
म्याग्दी। म्याग्दीको रत्नेचौर–भकुण्डे सडकको ट्रयाक खुलेको २७ वर्षपछि कालोपत्र गर्न थालिएको छ। बेनी नगरपालिका–१ रत्नेचौरबाट वडा नं २ भकुण्डे हुँदै तमाने जोड्ने करिब १० किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण र ग्रेड सुधारपछि कालोपत्र कार्य सुरु गरिएको हो।
सडक डिभिजन कार्यालय बागलुङ अन्तर्गत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत उपल्लाचौर–अर्जम–फापरखेत खण्डमा पहिलो चरणमा चार किलोमिटर कालोपत्र गरिंदैछ।
कार्यालय प्रमुख हरि सुवेदीका अनुसार सडकको नौ मिटर फराकिलो भागमा सात मिटर चौडाइको डिबिएसडी प्रविधिद्वारा कालोपत्र भइरहेको छ। विसं २०५६ मा खोलिएको यो सडक बेनी नगरपालिका–१, २, ४ र बागलुङ नगरपालिकाका बासिन्दाले प्रयोग गर्छन्।
२०७९ साल भदौ ६ गते रु २३ करोड ३२ लाखमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको योजना हाल ७५ प्रतिशत भौतिक र ५९ प्रतिशत वित्तीय प्रगतिको अवस्थामा छ।
बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले पूर्वमा एक घण्टाको यात्रा अहिले २० मिनेटमा झरेको जानकारी दिनुभयो। चालु आर्थिक वर्षमा रु चार करोड बजेट खर्च भइसकेको छ भने आगामी वर्षका लागि रु तीन करोड विनियोजन भएको छ।
सङ्घीय सरकारले आव २०७७÷७८ मा प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा रणनीतिक सडक आयोजना सञ्चालन गर्न रु ४०–४० करोड विनियोजन गरेको थियो।





































