जोडिनुहोस
  • होमपेज
  • पानी पर्दा किसानलाई राहत महसुस

पानी पर्दा किसानलाई राहत महसुस

इनरुवा (सुनसरी)। असार अन्तिमदेखि पानी पर्न थालेपछि यहाँका किसानले राहत महसुस गरेका छन् । धान रोपाईँ गर्ने बेला घर्किनै लाग्दा समेत पानी नपरेपछि भोक्राहा नरसिंह गाउँपालिका–४ का सुरेन्द्र उराँवले बोरिङ गरेको पानी तानेर धान रोप्नुभएको थियो ।

पानी नपरेपछि रोपिसकेका धानको रोपो समेत सुकेर चिरा परेको थियो । तीन दिनदेखिको वर्षाका कारण थोरै भए पनि राहत महसुस भएको उराँवले बताए । समयमै वर्षा नहुँदा यहाँका किसानले राखेको धानको ब्याड र रोपोसमेत सुक्न थालेको बेला परेको पानीले धानखेती गर्ने किसानलाई राहत मिलेको स्थानीय विनोद मेहताले बताए ।

गत सोमबारदेखि बुधबारसम्म लगातार बर्षा भएपछि धान रोपाइँ गर्न सहज भएको उहाँको भनाइ छ । आकाशे पानीको भरमा खेती गर्दै आएका भोक्राहा, कोसी, हरिनगर, देवानगन्ज इनरुवालगायतका क्षेत्रका कृषकले रोपेको धानको रोपो फेरी हरियो फर्किन थालेको स्थानीय सञ्जय मेहताले बताउनुभयो । आकाशे पानीको भरमा रहेका किसानलाई यही अवस्था रहिरहेमा धानबाली गुम्ने खतरा थियो ।

जिल्लामा हाल ४८ हजार ९०० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिए ।

धेरै टिप्पणी गरिएका