
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पाएका छन्। नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेटी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा पत्र हस्तान्तरण गरेका हुन्।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालका अनुसार अब भ्रमणको मिति दुवै देशका विदेश मन्त्रालयले परामर्श गरेर तय गर्नेछ। हालसम्म भदौ ३१ बाट ओली भारत जाने समाचार सार्वजनिक भए पनि त्यसको औपचारिक पुष्टि नेपाल वा भारत कुनै पक्षले गरेको छैन।
प्रधानमन्त्री कार्यालय स्रोतले ओलीको भ्रमण दुई दिनको हुने सम्भावना रहेको जनाएको छ। तर भ्रमण अवधि लम्ब्याउनेबारे पनि छलफल भइरहेको बताइएको छ।
सचिव मिस्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। यसका साथै उनले परराष्ट्र सचिव अमृतबहादुर राईसँग दुई पक्षीय छलफल गर्नेछन्।
ओली प्रधानमन्त्री बनेको १४ महिनापछि हुन लागेको यो भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ गति दिने अपेक्षा गरिएको छ।





































