
सुन्दरबजार (लमजुङ)।स्थानीय सरकारको सामाजिक उत्तरदायित्व अन्तर्गत सुन्दरबजार नगरपालिकाले सञ्चालन गर्दै आएको मलामीसहितको शववाहन सेवा प्रभावकारी बनेको छ।
नगरपालिकाले विसं २०७९ साउन १ गतेदेखि कार्यविधि बनाएर सुरु गरेको यो सेवाबाट हालसम्म १३५ जना नागरिकले सुविधा लिइसकेका छन्। नगरभित्र कसैको निधन भएमा, सम्बन्धित वडा अध्यक्षमार्फत सूचना प्राप्त गरेपछि नगरपालिकाले मलामीसहितको शववाहन सो परिवारको घरमै पठाउने व्यवस्था मिलाएको छ।
संस्कार सकिएपछि मलामीलाई पुनः घरसम्म फर्काइने व्यवस्था समेत गरिएको छ। नगरपालिकाले यस सेवामार्फत अन्त्येष्टि प्रक्रिया व्यवस्थित, सहज र सम्मानजनक बनाउने उद्देश्य राखेको जनाएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले सेवा थप व्यवस्थित बनाइएको जानकारी दिँदै, शववाहनमा मलामीका लागि बससहित आवश्यक सामग्री पनि उपलब्ध गराइँदै आएको बताए। “यो सेवाले शोकमा परेका परिवारलाई केही राहत दिएको छ,” प्रमुख प्रशासकीय अधिकृत घर्तीले भने।
नगर प्रमुख कृष्णप्रसाद कोईरालाका अनुसार सामाजिक उत्तरदायित्वको भावनाले प्रेरित भएर यो सेवा सुरु गरिएको हो। “मृतकप्रति सम्मान र परिवारप्रति सहानुभूति व्यक्त गर्न यो सेवा ल्याइएको हो,” उहाँले स्पष्ट गर्नुभयो।
नगरपालिकाले आगामी दिनमा सेवा अझ प्रभावकारी र पहुँचमैत्री बनाउने तयारी गरिरहेको पनि जनाएको छ।