
काठमाडौँ। मकवानपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा आज राति १ः०० बजे काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बरको यात्रुबाहक गाडी सडकबाट करिब २०० मिटर तल खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारका क्रममा आज बिहान हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। यसअघि, सर्लाहीकी १३ वर्षीया मानुसी मगरको शव घटनास्थल नजिकैको खोल्सामा आज बिहान फेला परेको थियो।
गाडीमा चालकसहित १६ जना सवार थिए। दुर्घटनामा घाइते भएका १० जनाको हेटौँडा अस्पताल र अन्यको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।




































