जोडिनुहोस
  • होमपेज
  • बैंकिङ प्रणालीमा अधिक तरलता, ७ खर्बभन्दा बढी लगानीयोग्य रकम थन्कियो

बैंकिङ प्रणालीमा अधिक तरलता, ७ खर्बभन्दा बढी लगानीयोग्य रकम थन्कियो

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुको लगानीयोग्य रकम ७ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। तर, त्यसको ठूलो भाग कर्जा लगानी हुन नसकी नेपाल राष्ट्र बैंकमै थन्किएको छ।

राष्ट्र बैंकका अनुसार असार ३ गतेसम्म बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्न नसकेको ४ खर्ब २८ अर्ब ९५ करोड रुपैयाँ राष्ट्र बैंकमा स्थायी निक्षेप सुविधा (एसडीएफ) तथा निक्षेप संकलन उपकरणमार्फत जम्मा गरेका छन्।

यसबीच, बैंकिङ प्रणालीमा निक्षेपको आकार ७० खर्ब नाघेको छ। असार १ गतेसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले कुल ७० खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्, जुन हालसम्मकै उच्च हो।

पछिल्लो एक दिनमै बैंकिङ प्रणालीमा २ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। यता, कर्जा भने सो अनुपातमा विस्तार हुन सकेको छैन। असार १ गतेसम्म कुल कर्जा लगानी ५५ खर्ब ६८ अर्ब रुपैयाँमा पुगेको छ, जसमा वाणिज्य बैंकको हिस्सा ४९ खर्ब ४९ अर्ब र अन्य वित्तीय संस्थाको ६ खर्ब १९ अर्ब छ।

कर्जा माग सुस्त हुनु र बैंकहरुले जोखिम मूल्याङ्कनमा कडाइ गर्नुका साथै आन्तरिक अर्थतन्त्र कमजोर देखिनु वर्तमान तरलताको प्रमुख कारण मानिएको छ। रेमिट्यान्स आप्रवाहमा सुधार आएकाले बैंकहरुको निक्षेप भने निरन्तर बढिरहेको छ।

हाल राष्ट्र बैंकमा एसडीएफमा १ खर्ब ७३ अर्ब ४० करोड र निक्षेप संकलन उपकरणमा २ खर्ब ५५ अर्ब ५५ करोड रुपैयाँ थन्किएको छ। गत आइतबार मात्रै राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो।

कर्जा माग न्यून रहँदा बैंकहरुले ब्याजदरसमेत घटाएका छन्। तर, आन्तरिक अर्थतन्त्र सुस्त हुँदा ब्याजदर सस्तो हुँदा पनि कर्जाको मागमा उल्लेखनीय वृद्धि देखिएको छैन। २०७९ फागुनदेखि कर्जाको ब्याजदर निरन्तर घट्दो क्रममा छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Валютный рынок Википедия