जोडिनुहोस
  • होमपेज
  • एमालेको कार्यकारी उमेर सीमा र कार्यकाल सीमा हटाउने प्रस्ताव सचिवालयबाट पारित

एमालेको कार्यकारी उमेर सीमा र कार्यकाल सीमा हटाउने प्रस्ताव सचिवालयबाट पारित

काठमाडौं। नेकपा एमालेले कार्यकारी पदका लागि तय गरिएको ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमा हटाउने निर्णय गरेको छ। बिहीबार ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय सचिवालयको करिब १० घण्टे बैठकपछि यो प्रस्तावमा सहमति जुटेको हो।

पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा विस्तृत छलफल भएको थियो। प्रारम्भिक प्रस्तावमा ११ सदस्यीय पदाधिकारी रहने भनिए पनि छलफलपछि पदाधिकारी संख्या १५ बनाउने सहमति जुटेको उनले बताए।

प्रस्तावित संरचनाअनुसार अब पार्टीमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी गरी तीन तह रहनेछन्। २५१ सदस्यीय केन्द्रीय कमिटीको एक तिहाइ (८४ जना) पोलिटब्युरोमा रहने र सचिवालयको व्यवस्था हटाएर पदाधिकारी नै स्थायी कमिटीको रूपमा काम गर्ने प्रस्ताव गरिएको छ।

बैठकमा वरिष्ठ उपाध्यक्ष पद हटाउने प्रस्तावमा पनि सैद्धान्तिक सहमति जुटेको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा पुनः सक्रिय राजनीतिमा फर्कने सम्भावनासम्बन्धी विषय पनि छलफलमा आएको थियो।

अब संशोधन प्रस्ताव शुक्रबार बस्ने पोलिटब्युरो बैठकमा पेश गरिनेछ। बैठक बिहान ११ बजेका लागि तय भए पनि दिउँसो १ बजेका लागि सारिएको एमालेले जनाएको छ। त्यसपछि साउन ५ गते हुने केन्द्रीय कमिटी बैठकमा प्रस्तावमाथि थप छलफल हुनेछ।

प्रस्तावहरू अन्ततः भदौ २०–२२ गते ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनमा पारित भएपछि मात्रै औपचारिक रूपमा लागू हुनेछन्। महाधिवेशनमा दशौँ राष्ट्रिय महाधिवेशनबाट चयन भएका प्रतिनिधिहरू सहभागी हुनेछन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका