
काठमाडौं । नेपालमा पहिलोपटक अत्याधुनिक ‘डिजिटल पीसीआर’ मेसिन जडान भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा सोमबार आयोजित कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उक्त प्रविधि सञ्चालनमा ल्याएका हुन् ।
सोही अवसरमा उनले सेवाग्राहीलाई सहज बनाउने उद्देश्यले थप गरिएको दुईवटा ‘रिपोर्ट भेन्डिङ मेसिन’को समेत उद्घाटन गरे । अब सेवाग्राहीले लामो लाइन बस्नुपर्ने झन्झट बिना, प्रदान गरिएको युनिक कोड प्रयोग गरी आफैं रिपोर्ट प्रिन्ट गर्न सक्नेछन् ।
मन्त्री पौडेलले सरकारको प्राथमिकता स्वास्थ्य सेवाको स्तरवृद्धि, आत्मनिर्भरता र नागरिकलाई विदेशमा परीक्षण पठाउनुपर्ने बाध्यता हटाउनेतर्फ केन्द्रित रहेको बताए । “हामी स्वास्थ्य संस्थालाई क्रमशः विश्वस्तरीय बनाउन प्रतिबद्ध छौं, जसले नागरिकलाई गुणस्तरीय सेवा सहजै उपलब्ध गराउँछ,” उनले भने ।
कस्तो हो डिजिटल पीसीआर प्रविधि ?
डिजिटल पीसीआर सामान्य पीसीआरभन्दा निकै परिष्कृत र संवेदनशील प्रविधि हो । यसले रगत वा अन्य नमुनामा अत्यन्त न्यून मात्रामा रहेको डीएनए पहिचान गर्न सक्ने भएकाले रोगको निदान अझ विश्वसनीय र प्रभावकारी हुन्छ ।
प्रयोगशालाका निर्देशक डा. रञ्जन राज भट्टका अनुसार यस प्रविधिबाट क्यान्सर उपचारमा महत्त्वपूर्ण मानिने ईजीएफआर, बीसीआर(एबीएल, बीआरएएफ जस्ता म्युटेसन परीक्षण र रगतमा घुमिरहेको ट्युमरको डीएनए जाँच अब नेपालमै सस्तो र सुलभ रूपमा गर्न सम्भव हुनेछ ।
नवीनतम प्रविधि विस्तारसँगै नेपालको रोग परीक्षण क्षमतामा गुणात्मक फड्को मारिने र जनताले गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पाउने स्वास्थ्य मन्त्रालयको विश्वास छ ।





































