
टक्सार (भोजपुर) । ऐतिहासिक महत्त्व बोकेको भोजपुरको टक्सार बजार धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण अभावमा ओझेलमा पर्न थालेको छ । विसं १८७२ मा स्थापना भएको यस क्षेत्रमा अहिले पनि २० भन्दा बढी मठमन्दिर र विहार रहेका छन् ।
शाक्यमुनि बौद्धविहार, राममन्दिर, मच्छिन्द्रनाथ, शिवमन्दिर, गणेशलगायतका सम्पदा जीर्ण बन्दै गएकाले स्थानीयले जीर्णोद्धार गर्न माग गरेका छन् । पाटनसँग तुलना गरिने टक्सारलाई “मिनी पाटन” भनेर चिनिने भए पनि उचित संरक्षण नभए पहिचान हराउने जोखिम बढेको सरोकारवालाको भनाइ छ ।
स्थानीय सानुकाजी शाक्य र किशोर ताम्राकारले गुरुयोजनासहित जीर्णोद्धार र प्रचार–प्रसारमा राज्यको ध्यान दिनुपर्नेमा जोड दिएका छन् । यशोधरा मावि टक्सारका प्रधानाध्यापक ध्रुवराज रेग्मीले सम्पदा जोगाउन स्थानीय, प्रदेश र संघीय सरकार सबैले पहल गर्न आवश्यक रहेको बताए ।




































