जोडिनुहोस
  • होमपेज
  • वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण सामग्रीको अवैध दोहन कार्य रोकिएको छैन। नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि–२०७५ ले असारदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन, सङ्कलन तथा घाटगद्दी गर्न नपाइने उल्लेख गरे पनि पर्वत खण्डका विभिन्न स्थानमा दिनरात लुकीछिपी बालुवा तथा ढुङ्गा निकाल्ने क्रम नरोकिएको स्थानीयले बताएका छन्।

पर्वतको जलजला गाउँपालिकाको बारीबेनीदेखि विहादी गाउँपालिकाको सेतीवेणीसम्मका किनारमा वर्षायाममा पनि दोहन नरोकिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन्। जलजला–८ नाङलीवाङका रमेश जिसीले ठेक्का नखुलेको र नदीमा बहाव नघटेको अवस्थामा पनि जेसिभी, टिपरलगायत उपकरण प्रयोग गरी नदी दोहन भइरहेको जानकारी दिए। उनले खुलेआम दोहन बढ्दा पनि अनुगमन गर्ने जिल्ला समन्वय समिति, सम्बन्धित पालिका र प्रहरी प्रशासन मौन रहेको गुनासो गरे।

सर्वोच्च अदालतले २०७८ असार २९ गते अन्तरिम आदेश जारी गर्दै नदी उत्खननसम्बन्धी सम्पूर्ण कार्य रोक्न आदेश दिएपछि चार वर्षदेखि यो कार्य रोकिएको थियो। तर, गत कात्तिक ११ गते सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल र विनोद शर्माको इजलासले उक्त रिट खारेज गरेपछि पुनः उत्खनन सुरु भएको हो।

रिट खारेजीको आदेश आएपछि जलजला गाउँपालिकाले उत्खननका लागि गत आर्थिक वर्षमा ठेक्का आह्वान गरेको थियो भने कुश्मा नगरपालिकाले ठेक्कासमेत खुलाएको छैन। फलेवास नगरपालिका र विहादी गाउँपालिकाले भने वर्षायाम सकिएपछि मात्र ठेक्का खुलाएर घाटगद्दी भएका ठाउँमा उत्खनन गर्न दिनुपर्ने जनाएका छन्।

जिल्ला अनुगमन समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विकले हालैको अनुगमनमा केही समस्या नदेखिएको दाबी गरे। उनले एक–दुई ठाउँबाहेक अधिकांश क्षेत्रमा समस्या नदेखिएको बताउँदै वर्षायाममा पनि दोहन गरेको पाइएमा तत्काल कारबाहीको दायरमा ल्याउने प्रतिबद्धता जनाए।

तर, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले कालीगण्डकी नदी किनारमा करिब आधा दर्जनको सङ्ख्यामा मापदण्डविपरीत क्रसर उद्योग पनि सञ्चालनमा रहेको बताए। उनका अनुसार, कहिलेकाहीँ प्रहरीले नियन्त्रणमा लिएर स्थानीय पालिकामा बुझाए पनि कारबाही नगरी छाडिदिँदा समस्या आउने गरेको छ। स्थानीय तहले कारबाही नगरी छाडिदिँदा नदीजन्य वस्तु निकाल्ने उपकरणको प्रयोग बढ्दै गएको उनको भनाइ छ।

स्थानीयका अनुसार, कुश्मा नगरपालिकाको मालढुङ्गा आसपास, नयाँपुल, गोपाङघाट, दमुवाखोला, जलजला गाउँपालिकाको लस्ती, मिलनचोक, खनियाघाट, केराबारी, बगरफाँट, फलेवास नगरपालिकाको जैमिनीघाट, विहादी गाउँपालिकाको पूर्तिघाट, सेतीवेणीलगायत ठाउँमा नदी उत्खनन बढी मात्रामा हुने गरेको छ।

राज्यका सरोकार भएका निकायले प्रभावकारी पहल नगर्दा कालीगण्डकीको बहाव परिवर्तन गरेर ढुङ्गा, बालुवा निकाल्ने क्रम बढेको स्थानीयको गुनासो छ।

धेरै टिप्पणी गरिएका