
काठमाडौं। मधेश प्रदेशकी उपसभामुख बबिता राउत ईशरले सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको छलफलका लागि प्रदेशसभा बैठक आज दिउँसो १ बजे बोलाएकी छन्।
उपसभामुख राउतले बैठक बोलाउनुको पृष्ठभूमि ३२ जना सांसदको माग हो, जसमा नेकपा संसदीय दलका नेता भरत साहले पनि हस्ताक्षरसहित बैठक आह्वान गर्न आग्रह गरेका थिए। साहका अनुसार २५ प्रतिशतभन्दा बढी प्रदेशसभा सदस्यको माग भएमा उपसभामुखले बैठक आह्वान गर्न सक्ने प्रावधान अनुसार बैठक बोलाइएको हो।
उपसभामुख ईशरले २५ प्रतिशतभन्दा बढी सात दलका प्रदेशसभा सदस्यको भौतिक उपस्थितिमा सभा सञ्चालन गर्न आग्रह गर्दै कानूनी बाध्यता अनुसार बिहान १० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक र दिउँसो १ बजे प्रदेशसभाको बैठकको सूचना प्रकाशन गर्न निर्देशन दिएकी थिइन्।
सभामुख मण्डलले भने बैठक आह्वान गर्ने जिम्मेवारी सचिवको रहेको उल्लेख गर्दै उपसभामुखले प्रक्रिया मिचेर बैठक आह्वान गरेको प्रतिक्रिया दिएका छन्। उनीमाथि दर्ता भएको अविश्वास प्रस्ताव सात दिन पुगेको छ र बहुमत प्रदेशसभा सदस्यहरूले एमालेलाई एक्लो पारेर छलफल अगाडि बढाएका छन्।




































