जोडिनुहोस
  • होमपेज
  • खडेरीपछि परेको वर्षाले पाल्पाका किसानलाई राहत, मकै छर्न सहज

खडेरीपछि परेको वर्षाले पाल्पाका किसानलाई राहत, मकै छर्न सहज

काठमाडौँ। लामो खडेरीपछि परेको वर्षाले पाल्पाका किसानलाई राहत मिलेको छ। मकै छर्न र अन्य बाली लगाउन तयारी अवस्थामा रहेका किसान वर्षा भएपछि उत्साहित भएका छन्।

तिनाउ गाउँपालिका कचलका थर्कबहादुर बगालेले सिँचाइ सुविधा नभएका कारण मकै छर्न नपाएकोमा वर्षापछि तयारी थालेको बताए। मकै छरिसकेका किसान पनि वर्षाले बाली सप्रने भन्दै खुसी भएका छन्। माथागढीकी मीना खाम्चाले खडेरीले मकै खेतमै सुक्न थालेकोमा यो वर्षाले ठूलो राहत पुर्‍याएको बताइन्।

बगनासकाली गाउँपालिका–२ का रमेश न्यौपानेले वर्षा भएपछि मकै छर्न र अन्य बाली लगाउन सहज भएको बताए। सिँचाइका लागि आकाशे पानीमा निर्भर रहेका किसानलाई अहिलेको पानीले खुसी दिएको रिब्दीकोट गाउँपालिका सिरुखर्ककी अञ्जु थापाले बताइन्। सुक्खा रहेको खेतबारी वर्षाले चिस्यान भएको छ।

लामो खडेरीले खेतबारीमा लगाएको तरकारी फस्टाउन पाएको थिएन। जिल्लाका अधिकांश ठाउँमा मकै लगाउने समय भएकाले पानी परेपछि किसानले त्यसको तयारी गरेका छन्। अहिले पाल्पाका अधिकांश बारीमा गहुँ पाकेको छ भने केही ठाउँमा गहुँ स्याहारेर मकै छर्ने तयारीमा किसान छन्।

वर्षाले आकाशे पानीको भरमा पाखो बारीमा खेती गरिने मकै, अदुवा, पिँडालु, हलेदो र तरकारी खेतीलाई सहयोग पुर्‍याएको छ। पानी नपर्दा मकै छर्न नपाएका किसानलाई छर्न पाएको र छरेका मकै खडेरीले सुक्न लागेका बेला वर्षाले राहत मिलेको हो। कुलो, नहर, थोपा सिँचाइ माध्यमबाट सिँचाइ हुने जग्गामा पानीको अभाव नभए पनि पाखो बारी, सिँचाइ नलाग्ने जग्गामा लगाएका बाली खडेरीले मर्न लागेका थिए। लामो समयसम्म खडेरी पर्दा समय घर्किने पिरमा परेका कृषक हाल पानी परेपछि राहत महसुस गरेको बताएका छन्। चैत अन्तिमसम्म पनि पानी नपर्दा मकै धेरैले छर्न नपाएकामा पानी परेपछि पाल्पासहित पहाडी जिल्लाका किसानलाई छर्न चटारो छ।

जिल्लामा सबैजसो ठाउँमा सिँचाइको पर्याप्त व्यवस्था नहुँदा किसान आकाशे पानीमा भर पर्नुपर्ने बाध्यता छ। पाल्पामा आठ हजार आठ सय पाँच हेक्टर खेतमा वर्षायाममा सिँचाइ सुविधा उपलब्ध छ। वर्षैभरि तीन हजार ९३४ हेक्टर क्षेत्रफलमा सिँचाइ हुन्छ भने मौसमी सिँचाइ चार हजार ८७१ हेक्टरमा गर्न सकिन्छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका