
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज राजधानीमा शान्तिपूर्ण र प्रतीकात्मक प्रदर्शन गर्ने जनाएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालमार्फत प्रदर्शनको उद्देश्य स्पष्ट पार्दै सरकारको निरङ्कुश प्रवृत्तिको विरोधमा आवाज उठाउने बताएका हुन् ।
अध्यक्ष लिङदेनले भनेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल, यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्ध यो प्रदर्शन हो ।’
उनले यो कार्यक्रममा सीमित नेताहरू मात्र सहभागी हुने र प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण हुने जानकारी पनि दिएका छन् । राप्रपा वैचारिक दृष्टिकोणले मुलुकको प्रमुख प्रतिपक्षी पार्टी भएको उल्लेख गर्दै लिङदेनले लेखेका छन्, ‘हामी जे गर्छौं भनेरै गर्छौं । सरकारले नडराए हुन्छ ।’
पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रतामा संकुचन भइरहेको भन्दै राप्रपाले सरकारको आलोचना गर्दै आएको छ । यसै सन्दर्भमा आजको प्रदर्शनले राजनीतिक वृत्तमा विशेष ध्यान खिचेको छ ।





































