
काठमाडौँ। सङ्घीय सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्ने सगरमाथा संवादको तयारीस्वरूप जुम्लामा हिमाली संवाद आयोजना गरिने भएको छ। यही वैशाख ९ र १० गते जुम्लाको खलङ्गामा हुने यो संवादमा कर्णालीका बालबालिका र सीमान्तकृत समुदायका समस्याहरूलाई प्राथमिकताका साथ उठाइने छ।
सेभ द चिल्ड्रेन, युथ एलाइन्स फर इन्भायरोन्मेन्ट (वाइएई), कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (क्रिडाक) लगायत विभिन्न विकास साझेदारहरूको सहकार्यमा सगरमाथा संवादको सचिवालयको समन्वयमा यो हिमाली संवाद आयोजना हुन लागेको हो। वाइएईका अध्यक्ष सनोत अधिकारीका अनुसार यो संवादले सीमान्तीकरणमा परेका बालबालिका, युवा र हिमाली समुदायलाई आफ्ना अनुभव आदानप्रदान गर्न, आफ्ना विशेष आवश्यकताहरू व्यक्त गर्न र बाल–संवेदनशील जलवायु समाधानका लागि वकालत गर्न एउटा साझा मञ्च प्रदान गर्नेछ।
अधिकारीले स्थानीय मुद्दाहरूलाई राष्ट्रिय स्तरमा जोड्दै हिमाली संवादले हिमाली समुदायभित्र एक महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उनले भने, “सगरमाथा संवादको मुख्य विषय ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ सँग मेल खाने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिगत छलफलहरूमा समुदायका आवश्यकताहरूको अर्थपूर्ण समावेशीकरणका लागि बालबालिका र युवाको आवाजलाई स्थान दिइनेछ।”
हिमाली संवादका प्रमुख उद्देश्यहरूमा बालबालिका र युवाको आवाजलाई सशक्त बनाउने, उमेर अनुसारको जलवायु नीतिहरूको वकालत गर्ने, स्थानीय समस्याहरूलाई विश्वव्यापी जलवायु संरचनाहरूसँग जोड्ने र समुदायको नेतृत्वमा भएका सफल जलवायु पहलहरूलाई प्रदर्शन गर्ने रहेका छन्।
यो संवादमा कर्णाली प्रदेशका हिमाली समुदायका बालबालिका, आदिवासी र सीमान्तकृत समुदाय, महिला र किशोरी, हिमाली क्षेत्रमा कार्यरत नागरिक समाजका संस्थाहरू, विकास साझेदार, संयुक्त राष्ट्रसङ्घीय निकाय, सरकारी अधिकारीहरू, स्थानीय सरकारका प्रतिनिधि र नीति निर्माताहरू गरी करिब १५० जनाको सहभागिता रहनेछ। विज्ञहरूका अनुसार जलवायु परिवर्तन र वातावरणीय विनाशले बालबालिका र हिमाली क्षेत्र झन् जोखिममा पर्दै गएका छन्।
क्रिडाकका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले वातावरणीय क्षति र उत्सर्जनमा नगण्य योगदान भए पनि हिमाली क्षेत्रका बालबालिकाहरूले यसको विनाशकारी परिणामहरूको सबैभन्दा बढी मार खेपिरहेको बताए। उनले नेपालका हिमाली समुदायमा बालबालिकाहरूले जलवायु परिवर्तनका कारण हुने चरम मौसमी घटनाहरू, वायु प्रदूषण र पानीजन्य रोगहरूको सामना गरिरहेको र यसले उनीहरूको जीवन, शिक्षा, सुरक्षा र समग्र कल्याणमा नकारात्मक असर पारिरहेको जानकारी दिए। यस्ता प्रभावित समुदायको न्यायका लागि आवाज उठाउन हिमाली संवाद आयोजना गरिएको उनले बताए।
विसं २०७८ को जनगणना अनुसार नेपालको कुल जनसङ्ख्याको ३३.८ प्रतिशत बालबालिका छन्। भौगोलिक र सामाजिक–आर्थिक चुनौतीहरूका कारण नेपाल विश्वका सबैभन्दा जलवायु जोखिमयुक्त देशहरूमध्ये एक हो। हिमाली क्षेत्रहरूमा जलवायु परिवर्तनका असरहरू अझ गम्भीर छन्। मौसममा परिवर्तन, हिमनदी पग्लनु र पानीको आपूर्ति घट्नुले पहिरो, बाढी र खडेरीजस्ता विपद्हरूको आवृत्ति बढाउँछ।
पछिल्ला केही दशकमा नेपालमा जलवायुजन्य घटनाहरू बढ्दै गएका छन्। कर्णाली क्षेत्रले बढ्दो खडेरी र चरम पानी अभावको सामना गरिरहेको छ, जसले कृषि उत्पादनमा कमी ल्याएको छ। यी चुनौतीहरूले जीविकोपार्जनलाई गम्भीर रूपमा कमजोर बनाएको छ र बसाइँसराइ, कुपोषण, शिक्षामा अवरोध र बालविवाह जस्ता समस्याहरू बढाएको क्रिडाकका कार्यकारी निर्देशक शाहीले बताए।






































