जोडिनुहोस
  • होमपेज
  • मनास्लु क्षेत्रमा विदेशी पर्यटकको संख्या अहिलेसम्मकै उच्च

मनास्लु क्षेत्रमा विदेशी पर्यटकको संख्या अहिलेसम्मकै उच्च

गोरखा। गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न जाने विदेशी पर्यटकको संख्या आर्थिक वर्ष २०८१/८२ मा अहिलेसम्मकै उच्च भएको छ।

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख सन्तोष शेरचनका अनुसार साउनदेखि असार मसान्तसम्मको एक वर्षको अवधिमा १२ हजार ५१२ विदेशी पर्यटक मनास्लु पुगेका हुन्। “यो संख्या हालसम्मकै सर्वाधिक हो,” शेरचनले भन्नुभयो, “पदमार्गको पहुँच, सुरक्षा, प्रचारप्रसार र होटेल सुविधाका कारण पर्यटकको आकर्षण बढेको छ।”

गत वर्ष मनास्लु क्षेत्रमा सार्क राष्ट्रका २५३ र अन्य मुलुकका १२ हजार २४८ जना विदेशी पर्यटक पुगेका थिए। त्यस्तै, ११ नेपालीले पनि शुल्क तिरेर भ्रमण गरेका थिए।

यसअघि, आव २०८०/८१ मा ९ हजार ७८३, आव २०७९/८० मा ७ हजार ७५०, र आव २०७८/७९ मा २ हजार २२२ जना विदेशी पर्यटक मनास्लु घुम्न गएका थिए।

गत आवमा मनास्लु घुम्न पुगेकामध्ये फ्रान्सका नागरिक सबैभन्दा धेरै थिए। फ्रान्सका ७६३ पुरुष र ६४४ महिलाले भ्रमण गरेका थिए। यस्तै, जर्मनी, अमेरिका, नेदरल्याण्ड्स, इजरायल, बेलायत, अष्ट्रेलिया, स्पेन, रुस र क्यानडालगायत मुलुकका पर्यटकको उपस्थिति उल्लेखनीय रहेको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका