
मुस्ताङ। अविरल वर्षाका कारण उपल्लो मुस्ताङ जोड्ने जोमसोम-कोरला सडकमार्ग आज बिहानदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ। बिहानदेखि परेको अविरल वर्षाका कारण उक्त सडकखण्डअन्तर्गत बारागुङ मुक्तिक्षेत्र-३ छुसाङस्थित ताङ्वे खोला र छुसाङस्थित मुस्ताङ गेट नजिककै बाढीका कारण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
बारागुङ-३ छुसाङस्थित मुस्ताङ गेट नजिकैका सडक माथिबाट लेदो र गेग्रानसहितको पहिरो खसेको र बारागुङ-३ छुसाङस्थित ताङ्वे नजिकको खोलामा लेदोसहितको बाढीले सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए।
ताङ्वे गाउँको नजिकको शाखा नदीमा लेदो र गेग्रानसहितको बाढीले करिब ३० मिटर सडक पूर्ण रुपमा क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय छुसाङका प्रहरी सहायक निरीक्षक झलकबहादुर थापाले जानकारी दिए।
सडक अवरुद्ध भएसँगै उपल्लो मुस्ताङ आवतजावत गर्ने सवारीसाधन अलपत्र परेका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङले अवरुद्ध सडकमा यातायात सञ्चालनका लागि आवश्यक काम भइरहेको प्रहरीको भनाइ छ।




































