जोडिनुहोस
  • होमपेज
  • रूपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन, आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्‍यो

रूपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन, आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्‍यो

काठमाडौँ। निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा २०८२ कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि विस्तृत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगकी सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालद्वारा जारी विज्ञप्तिमा उम्मेदवारी दर्तादेखि मतदानको मिति र समयसम्बन्धी विवरण सार्वजनिक गरिएको हो।

निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता २०८२ असोज २१ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा गरिनेछ। सोही दिन साँझ ५ बजेपछि राति ७ बजेसम्म उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरिनेछ।

प्रारम्भिक सूचीमा समावेश उम्मेदवारको विरोधमा उजुरी दिने म्याद असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कायम गरिएको छ। उजुरीमाथिको जाँचबुझ र निर्णय प्रक्रिया असोज २२ गते दिउँसो ३ बजेदेखि असोज २३ गते साँझ ५ बजेसम्म हुनेछ। निर्णयपछि असोज २३ गते साँझ ५ देखि राति ७ बजेसम्म उम्मेदवारको नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ।

त्यसपछि उम्मेदवारहरूले असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्। फिर्ता प्रक्रिया सम्पन्न भएपछि सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने र त्यसपछि दिउँसो ३ देखि साँझ ६ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम तय गरिएको छ।

निर्वाचन आयोगका अनुसार मतदान प्रक्रिया २०८२ साल कात्तिक १७ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रहरूमा सम्पन्न हुनेछ।

आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक प्रणालीअन्तर्गत बन्दसूचीमा नाम समावेश भएका व्यक्तिहरू यस उपनिर्वाचनमा उम्मेदवार हुन नपाउने कानुनी प्रावधान रहेको भन्दै सबै सरोकारवालालाई समयमै जानकारी लिन र प्रक्रिया पालना गर्न आग्रह गरेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Валютный рынок Википедия