
काठमाडौं । सर्वोच्च अदालतले गौर हत्याकाण्डको छानबिन गर्न परमादेश जारी गरेलगत्तै संघीय लोकतान्त्रिक मोर्चाले आकस्मिक बैठक आह्वान गरेको छ।
मोर्चाका नेता केशव झाका अनुसार बैठक आज साँझ ५ बजे थापागाँउस्थित जनता प्रगतिशील पार्टी नेपालको केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा गौर हत्याकाण्डसँगै रुपन्देही–३ को उपनिर्वाचन तयारी र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।
गौर हत्याकाण्डलाई लिएर मधेश–केन्द्रित दलभित्र तरंग आएको छ। मोर्चामा आबद्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव घटनाको योजनाकारको रूपमा चर्चामा रहँदै आएका छन्।
यसअघि मोर्चाले उपनिर्वाचनमा नाउपाको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो। तर, आन्तरिक विवादका कारण नाउपा नै अयोग्य ठहरिएपछि संरक्षक रेशम चौधरीले अघि सारेका स्वतन्त्र उम्मेदवारलाई सघाउने विषय बैठकमा प्राथमिकताका साथ छलफल हुने बताइएको छ।
यस्तै कांग्रेस र एमालेले अघि सारेको उपसभामुख हटाउने तयारीमा मोर्चाको धारणा निर्णायक हुने देखिएको छ। प्रतिनिधि सभामा दुई तिहाइ बहुमत पुर्याउन मोर्चामा आबद्ध दलहरूको भूमिका अपरिहार्य बनेको विश्लेषण राजनीतिक वृत्तमा छ।





































