
ढोरपाटन (बागलुङ)। चार वर्षअघि सुरु गरिएको निसीखोला आधारभूत अस्पतालको निर्माण बजेट अभावका कारण अलपत्र परेको छ। विसं २०७८ माघ २० गते सम्झौता भई रु ८ करोड २४ लाखमा सुरु भएको १० श्ययाको अस्पताल २०८० पुसमा सम्पन्न गर्ने लक्ष्य थियो।
हिन्दुङ आइएस–एसी जेबी कन्ट्रक्सनका प्रमुख दीपककुमार अदैका अनुसार हालसम्म ८० प्रतिशत काम सकिएको छ। तर, करिब एक वर्षदेखि बजेट नआउँदा काम रोकिएको छ। अदैले पालिकाबाट रु १ करोड १० लाख भुक्तानी अझै पाउन बाँकी रहेको र थप करिब रु ६० लाख आवश्यक हुने बताए। उनका अनुसार रंगरोगन, विद्युत् जडान र फिनिसिङ मात्र बाँकी छ।
निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरले सङ्घीय सरकारले पठाउनुपर्ने रु १ करोड ५० लाख नआउँदा समस्या उत्पन्न भएको बताए। “यो योजना सङ्घीय सरकारअन्तर्गतको भएकाले पालिकाले बजेट हाल्न सक्दैन,” उनले स्पष्ट पारे। उनका अनुसार स्वास्थ्य तथा अर्थ मन्त्रालयसँग बजेटका लागि पत्राचार भए पनि अहिलेसम्म उपलब्ध भएको छैन।
अस्पताल निर्माण अलपत्र पर्दा स्थानीय बासिन्दा सेवाबाट वञ्चित भएका छन्। आवश्यक बजेट व्यवस्थापन भएपछि मात्रै निर्माण कार्य अघि बढ्ने सम्बन्धित पक्षहरूको भनाइ छ।





































