जोडिनुहोस
  • होमपेज
  • विपिन जोशीको अन्तिम यात्रा : देशभरको आँसु, प्रधानमन्त्रीदेखि आमासम्मको श्रद्धाञ्जली

विपिन जोशीको अन्तिम यात्रा : देशभरको आँसु, प्रधानमन्त्रीदेखि आमासम्मको श्रद्धाञ्जली

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका कञ्चनपुरका युवा विपिन जोशी आज मातृभूमिमा फर्किएका छन्—तर श्वाससहित होइन, इतिहास बनेर। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार विहान उनको पार्थिव शरीर आइपुग्दा विमानस्थल शोक र सम्मानले ओतप्रोत बनेको थियो।

प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू, परराष्ट्र अधिकारी, नेपाली सेनाका प्रतिनिधि र परिवारजन सबैको आँखा रसाएको थियो। नेपाली झण्डाले ओढिएको कफिन नजिक पुगेर प्रधानमन्त्रीले भनिन्— “विपिन अब एउटा आमाको मात्रै छोरा होइन, सिंगो राष्ट्रको सन्तान हो।”

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणमा विपिनसहित नेपाली विद्यार्थी समूहमा मृत्यु र बेपत्ताको खबर आएको थियो। ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अध्ययनका लागि गएका विपिन त्यसबेलादेखि नै बन्धकको रूपमा अज्ञात थिए।

इजरायलले गत असोज २७ गते उनको मृत्यु पुष्टि गरेको थियो। युद्धविरामपछि भएको बन्दी साटासाटका क्रममा विपिनको शव इजरायली सेनाले फिर्ता पाएको थियो। डीएनए र फरेन्सिक परीक्षणले पुष्टि गर्‍यो — विपिन जोशी अब फर्किँदैछन्, तर स्थिर मौनतामा।

विमानस्थलमा आयोजित श्रद्धाञ्जली समारोहमा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्दै भनिन् —“हामीले उनको संघर्ष, पीडा र साहस कल्पना गर्न सक्दैनौं। तर आज हामी सबैको हृदयमा विपिन जीवित छन्। उनी प्रत्येक नेपाली आमाको छोरा हुन्।” सो समारोहमा उपस्थित मन्त्रीहरू, कूटनीतिज्ञ र सेनाका अधिकारीहरूले पनि पुष्पचक्र अर्पण गर्दै राष्ट्रिय सम्मानका साथ विपिनप्रति श्रद्धाञ्जली व्यक्त गरे।

कार्यक्रमपछि उनको पार्थिव शरीर नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी लगिएको छ, त्यहाँबाट कञ्चनपुरस्थित उनको घरमा लैजान तयारी भएको छ। विपिनको अन्तिम संस्कार आजै कञ्चनपुरको भीमदत्त नगरपालिकामा हुने बताइएको छ। उनका परिवार, साथी र हजारौं स्थानीय बासिन्दा अन्तिम श्रद्धाञ्जलीका लागि प्रतीक्षारत छन्।
त्यो क्षण केवल एउटा परिवारको शोक होइन — सिंगो सुदूरपश्चिम र नेपाली जनताको सामूहिक पीडा बन्न पुगेको छ।

प्रदेश सरकारको सहयोग र संवेदना

सुदूरपश्चिम प्रदेश सरकारले विपिनको परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले भने —“विपिनले राष्ट्रको नाम उच्च बनाएका छन्। यो केवल सहयोग होइन, एक नेपालीको सम्मान हो।”

सरकारले यसअघि इजरायलमा मारिएका अन्य नेपाली विद्यार्थीहरूको परिवारलाई पनि समान सहयोग उपलब्ध गराइसकेको थियो। तर जोशीको अवस्थाको पुष्टि ढिलो भएकाले उनको परिवारले अहिले उक्त सहयोग पाउने भएको हो।

विपिन जोशी केवल एक विद्यार्थी होइन, हजारौं नेपाली युवाको सपना र संघर्षको प्रतीक हुन् — जो श्रम, सीप र शिक्षाका लागि टाढा भूमिमा पुगेका थिए।उनको मृत्युले प्रश्न उब्जाएको छ —नेपाली युवाले किन आफ्नै देशमा अवसर खोज्न सक्दैनन्? किन उनीहरू आफ्नो भविष्य विदेशी भूमिमा सुम्पिन बाध्य छन्?

विपिनको कफिनमा ओढिएको नेपालको झण्डा केवल एक व्यक्ति होइन, एक पुस्ताको अधूरो सपना हो।
प्रधानमन्त्रीले भनेझैँ —“विपिन मरेका छैनन्, उनी हाम्रो चेतनामा सदैव बाँचिरहनेछन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका