
काठमाडौं : ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ज्यान गुमाएका चारै जनाको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार ललितपुर महानगरपालिका १० की १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ का ७० वर्षीय विनोद पौडेल र उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेलको मृत्यु भएको हो। यस्तै चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० का ४२ वर्षीय दुर्गा भट्टराईको पनि मृत्यु भएको हो।
ललितपुर महानगरपालिका १० की ४५ वर्षीया सबिना आचार्य र उनको १० वर्षीय छोरा भविमय आचार्य गम्भीर घाइते छन्।
सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा आज बिहान फुङलिङ नगरपालिका- १० को सेवारो चोक भन्ने ठाउँमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो।
गम्भीर घाइते दुईजनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ। उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए।



































