
बैतडी। जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भएपछि जोखिम बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार दशरथचन्द नगरपालिकामा तीन, पुचौडीमा दुई तथा मेलौली र पाटन नगरपालिकामा एक–एक गरी सात जनामा डेङ्गी भेटिएको हो ।
सङ्क्रमण बढेपछि स्वास्थ्य कार्यालयले बुधबार सदरमुकाम र पाटन बजारमा ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ । अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयको सहभागिता थियो ।
वर्षायाममा लामखुट्टे सक्रिय हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । यसैबीच, दोगडाकेदार गाउँपालिकाले पनि डेङ्गी नियन्त्रणका लागि हरेक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ । तीन महिने अभियानमा विद्यालय, स्वास्थ्यचौकी र सरकारी कार्यालयको सहभागिता सुनिश्चित गर्न पालिकाले आग्रह गरेको छ ।





































