
काठमाडौँ।नीति अनुसन्धान प्रतिष्ठानले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विदेशमा रहेका नेपाली र देशभित्रै अन्तरनिर्वाचन क्षेत्रका मतदाताले मतदान गर्न सक्ने निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कात्तिक दोस्रो साता प्रतिष्ठानलाई अध्ययनको जिम्मेवारी दिएको थियो। प्रतिष्ठानले दुई साता लगाएर तयार पारेको उक्त संक्षिप्त प्रतिवेदनमा अध्ययनका निष्कर्ष र सिफारिस समेटिएका छन्। प्रतिष्ठानले शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसमक्ष अध्ययनबारे प्रस्तुति दिनेछ।
प्रतिष्ठानका प्रवक्ता तथा वरिष्ठ अनुसन्धानकर्ता डा. दीपककुमार खड्काका अनुसार प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा विदेशका नेपाली र अन्तरनिर्वाचन क्षेत्रका मतदाताको मतदान सम्भव छ। विदेशमा रहेका नेपालीका लागि प्रत्यक्ष उपस्थिति, हुलाकमार्फत मतपत्र पठाउने र अनलाइन गरी तीन विधिबाट मतदान गर्न सकिने सुझाव प्रतिवेदनमा समावेश छ।
डा. खड्काका अनुसार अनलाइन मतदान सहज भए पनि प्रविधि भित्र्याउने, परीक्षण, प्रमाणीकरण र सुरक्षाजस्ता पूर्वतयारीका कारण कम्तीमा तीनदेखि चार महिना समय लाग्छ। सरकारले यसका लागि प्राविधिक तथा व्यवस्थापकीय प्रक्रिया छिटो अघि बढाउनुपर्ने सुझाव प्रतिवेदनमा छ।
विदेशमा प्रत्यक्ष उपस्थित भएर मतदान गर्ने (इन–पर्सन) विधि सानो संख्या भएका देशमा मात्र उपयुक्त हुने बताइएको छ। विदेशका ४४ कूटनीतिक नियोगमा करिब १८० जनशक्ति भएकाले श्रमिक धेरै रहेको देशमा प्रत्यक्ष मतदान कठिन हुने प्रवक्ता खड्काले उल्लेख गर्नुभयो। यस अवस्थामा अनलाइन वा हुलाकमार्फत मतदान गर्ने विधि व्यवहारिक देखिएको उनको भनाइ छ।
हुलाकबाट मतदान गर्दा मतपत्र पठाउन र फर्किन १६ देखि २८ दिन लाग्ने भएकाले मतपत्र समयमै पठाउनुपर्ने हुन्छ। हाल हुलाक सेवा विभागको अन्तर्राष्ट्रिय सम्पर्क कोभिड–१९ पछि कमजोर रहेकाले विमान कम्पनीसँग सहकार्य आवश्यक हुने उल्लेख छ।
प्रतिवेदनमा बङ्गलादेशले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा हुलाक विधि अपनाउन लागेको उदाहरण पनि दिइएको छ।
अनुसन्धान प्रतिष्ठानले अन्तरनिर्वाचन क्षेत्र मतदानसमेत फागुन २१ कै निर्वाचनमा सम्भव रहेको निष्कर्ष निकालेको छ। अस्थायी मतदाता नामावली बनाएर विवरण सङ्कलन गर्ने, सोअनुसार मतदान केन्द्र तोक्ने र प्रत्यक्ष तथा समानुपातिक दुवै प्रणालीमा मतदान सुनिश्चित गर्न कानुन संशोधन आवश्यक भएको उल्लेख छ।
विदेशमा रहेका नेपाली मतदाताको यकिन संख्या अझै स्पष्ट छैन। गैरआवासीय नेपाली सङ्गठनले करिब ५० लाख भएको दाबी गर्दै आएको छ भने २०७८ को जनगणना अनुसार अनुपस्थित जनसङ्ख्या २१ लाख ९० हजार ५९२ छ। सन् २०२५ का लागि प्रक्षेपित अनुपस्थित जनसङ्ख्या २३ लाख ९४ हजार २८ रहेको जनाइएको छ।





































