जोडिनुहोस
  • होमपेज
  • तिला लघुजलविद्युत् आयोजना ठप्प, करोडौँका उपकरण सडकमा अलपत्र

तिला लघुजलविद्युत् आयोजना ठप्प, करोडौँका उपकरण सडकमा अलपत्र

जुम्ला। जुम्लाको तिला गाउँपालिका–२ मा निर्माण गरिएको तिला लघुजलविद्युत् आयोजना लामो समयदेखि बन्द रहँदा करोडौँ मूल्य बराबरका विद्युतीय उपकरण अलपत्र परेका छन्। आयोजना सञ्चालनमा नआउँदा विद्युत् उत्पादनका लागि खरिद गरिएका सामग्री सडक किनारमै प्रयोगविहीन अवस्थामा छाडिएका छन्।

दुर्गम बस्तीमा विद्युत् सेवा विस्तार गर्ने उद्देश्यले निर्माण गरिएको आयोजना बन्द भएपछि लाखौँ रुपैयाँ खर्चेर खरिद गरिएका उपकरण काम नलाग्ने अवस्थामा पुगेको स्थानीयको गुनासो छ। विसं २०७४ मा पूर्वाधार विकास कोषको लगानीमा निर्माण सुरु गरिएको उक्त आयोजनाका लागि गाउँपालिकाले खरिद गरेका विद्युतीय सामग्री हालसम्म जडान हुन सकेका छैनन्।

तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाका अनुसार स्थानीय तह निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिको पहलमा ती उपकरण खरिद गरी गाउँपालिकामा ल्याइएको थियो। “अघिल्लो कार्यकालमा पेश्कीबापत केही रकम मात्रै भुक्तानी भएको रहेछ,” उनले भने, “त्यसपछि आयोजना नै अघि बढ्न सकेन।”

तिला गाउँपालिका–७ स्थित तिला नदीबाट एक मेघावाट क्षमताको विद्युत् उत्पादन गर्ने लक्ष्यसहित तत्कालीन प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतको पहलमा पूर्वाधार विकास कोषअन्तर्गत करिब ११ करोड रुपैयाँ बजेट खर्च गरी आयोजना निर्माण गरिएको थियो।

जलविद्युत् आयोजना तथा आवश्यक उपकरण लामो समयदेखि प्रयोगविहीन भएपछि स्थानीय बासिन्दाले तत्काल आयोजना सञ्चालनमा ल्याउन माग गर्दै सम्बन्धित निकायमाथि दबाब बढाइरहेका छन्।

धेरै टिप्पणी गरिएका