जोडिनुहोस
  • होमपेज
  • तटबन्ध नहुँदा मानखोलाले पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटान गर्दै

तटबन्ध नहुँदा मानखोलाले पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटान गर्दै

राँझा (बाँके)। खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन मानखोलाको कटानमा पर्दै आएको छ। तटबन्ध नहुँदा करिब दुई बिघा जमिन कटान भइसकेको कार्यालय प्रमुख वरिष्ठ पशुविकास अधिकृत डा खिमानन्द खनालले जानकारी दिए। पछिल्लो दुई वर्षमा कटान तीव्र भएको र गत वर्ष मात्रै डेढ बिघा जमिन बगेको उनले बताए।

यो वर्ष तटबन्ध नभए थप दुई बिघा जमिन कटानको जोखिममा रहेको खनालले बताए। दुई वर्षसम्म तटबन्ध नभए मानखोला पशु प्रजनन कार्यालयसँगै गुराँसपुर बस्तीमा पस्ने खतरा बढेको उनको भनाइ छ। कटान रोकथामका लागि पहल गरे पनि बजेट उपलब्ध नहुँदा समस्या बढ्दै गएको उनले गुनासो गरे। बर्खामा बाढीले जौ घाँस र डाले घाँसका रुख कटान गर्ने गरेको उनले बताए।

कार्यालयका पशुसेवा प्राविधिक देवनारायण जैशीले तटबन्ध नभए मानखोला खेतीयोग्य जमिनमा पसेर ठूलो क्षति पुऱ्याउने बताए। जिल्ला सदरमुकाम नेपालगञ्जबाट १५ किलोमिटर पश्चिममा रहेको कार्यालय ३४.४ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यसमध्ये २५ हेक्टरमा घाँस खेती गरिएको छ। कार्यालयले सुदूरपश्चिम र कर्णालीका १८ तथा लुम्बिनीका ६ जिल्लामा कृत्रिम गर्भाधान सेवा सञ्चालनमा सहजीकरण गर्दै आएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका