
काठमाडौँ । धनगढी क्षेत्रीय विमानस्थल विस्तारका लागि भएको जग्गा खरिद प्रक्रियामा अनियमितता भएको आरोपमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसद्को सार्वजनिक लेखा समितिमा उजुरी परेको छ। यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि आलेविरुद्ध २०८१ चैत ११ गते उजुरी परेपछि छानबिन प्रक्रिया सुरु भइसकेको छ।
अनियमितताका आरोप
लेखा समितिमा दर्ता गरिएको उजुरीमा पूर्वमन्त्री आलेले राज्यको ढुकुटीबाट विनियोजित बजेट दुरुपयोग गरी निजी कम्पनीमार्फत जग्गा खरिद गरेको आरोप लगाइएको छ। आरोपअनुसार उनले अशोक जोशी र हेमन्त रेग्मीको नाममा कम्पनी स्थापना गरी बैंकलाई समेत भ्रममा पारेर रकम निकासा गरेका थिए।
उक्त प्रक्रियामा तत्कालीन मेगा बैंकका कर्मचारी अमित श्रेष्ठ, बिटुमिन ठेकेदार तथा बिचौलिया पवन गुप्ता, स्वकीय सचिव हेमन्त रेग्मी र घोडाघोडी नगरपालिकाका इन्जिनियर तथा हेमन्तका फुपुका छोरा अशोक जोशीसमेत संलग्न रहेको उजुरीमा उल्लेख छ।
योजना, बजेट र कार्यान्वयन
आले पर्यटनमन्त्री रहँदा धनगढी विमानस्थललाई क्षेत्रीय स्तरमा विस्तार गर्ने योजना ल्याएका थिए। २०७८ पुस ११ गतेको नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको बैठकमा १ अर्ब रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय भएको थियो। सो बजेट प्राधिकरणको मुद्दती खाता मार्फत मेगा बैंकमा जम्मा गरिएको थियो।
आलेले उक्त रकमको प्रयोग निजी कम्पनीमार्फत सेटिङ गरी जग्गा खरिदमा लगाएका थिए। उनले करिब ७५ करोड बराबरको ३० बिघा जग्गा खरिद गरेको र प्रति कट्टा साढे १२ लाखमा किनेको जग्गा पछि प्रति कट्टा ५० लाखमा बेच्ने योजना बनाएको उजुरीमा दाबी गरिएको छ।
अपचलन र निष्कर्ष
उजुरीमा पूर्वमन्त्री आलेले बैंकसँग सेटिङ गरेर १ अर्ब रुपैयाँ ऋण लिएर त्यसमा २५ करोड रुपैयाँ अपचलन गरेको आरोप समेत छ। विमानस्थल विस्तारको उद्देश्यले सुरु गरिएको योजना मन्त्री आले पदमुक्त भएपछि अलपत्र परेको छ।
धनगढी विमानस्थललाई २५८ बिघा जमिन अधिग्रहण गरी धावनमार्ग १८०० मिटरबाट २५०० मिटरसम्म विस्तार गर्ने योजना बनाइएको भए पनि आवश्यक स्रोत सुनिश्चित नगरी बजेट विनियोजन गरिएको उजुरीमा उल्लेख गरिएको छ।
आरोपअनुसार, पूर्वमन्त्री आलेले पदीय मर्यादाविपरीत दबाब दिएर प्राधिकरणमार्फत रकम विनियोजन गराई निजी फाइदाका लागि प्रयोग गरेको दाबी गरिएको छ। उजुरीसँगै गुगल नक्सा, गुरुयोजना, बजेट स्वीकृति तथा सम्बन्धित कागजातहरू समेत संलग्न गरिएको छ र कानुनी कारबाहीको माग गरिएको छ।





































