
नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले आजदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ। अस्पतालका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले अस्पतालको इतिहासमै पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको जानकारी दिएका छन्।
अस्पतालमा दुई जना बिरामीको मिर्गौला प्रत्यारोपण हुँदैछ र त्यसका लागि आवश्यक सबै तयारी पूरा भएको डा सुवेदीले बताए। “एक जनाको प्रत्यारोपण सुरु भइसक्यो, त्यो सकिएपछि लगत्तै अर्कोको हुन्छ,” उनले भने।
मिर्गौला प्रत्यारोपणका लागि सहिद धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठसहित १४ जनाको विशेषज्ञ टोली भेरी अस्पताल आएको छ। डा सुवेदीले अस्पतालको सेवा र क्षमता विस्तारसँगै मिर्गौला प्रत्यारोपणका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे।
अस्पतालमा अबदेखि महिनामा कम्तीमा एक जनाको मिर्गौला प्रत्यारोपण गरिने र अस्पतालको जनशक्तिलाई क्रमशः थप गर्दै लगिने योजना रहेको उनले बताए। अस्पतालका यूरोलोजी विशेषज्ञ डा दिपेश गुप्ता, एनेस्थेसिया डा पारस पाण्डे, नेफ्रोलोजीतर्फ डा शौरभ हमाल, यूरोलोजीका डा अञ्जित फुयाँल र डायलासिस इन्चार्ज डा पारस श्रेष्ठलगायतको टोली प्रत्यारोपणमा संलग्न रहेको छ।
भेरी अस्पतालमा हाल दैनिक २० देखि २५ जना मिर्गौलाका बिरामीले डायलासिस सेवा लिइरहेका छन्। यहाँ मिर्गौला प्रत्यारोपण न्यूनतम शुल्कमा उपलब्ध हुने र यसबाट धेरै बिरामी लाभान्वित हुने डा सुवेदीको भनाइ छ।
पछिल्लो समय भेरी अस्पतालले जलनका बिरामीका लागि छुट्टै छ शय्याको वार्ड, २० शय्याको सर्जिकल वार्ड, १६ शय्याको पोस्ट अपरेटिभ वार्ड र नयाँ ओपिडी सेवा पनि सञ्चालनमा ल्याएको छ।
भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले मिर्गौला प्रत्यारोपण सेवा अस्पतालको महत्वपूर्ण उपलब्धि भएको र यसले मिर्गौला रोगका बिरामीहरूका लागि नयाँ आशा जगाएको बताए।





































