समाचार
रौतहट जेनजी आन्दोलनका कारण ४४ करोडभन्दा बढी क्षति,चन्द्रनिगाहपुरमा सबैभन्दा ठूलो क्षति

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा रौतहटमा सरकारी तथा निजी सम्पत्तिमा ४४ करोड रुपैयाँभन्दा बढीको क्षति भएको तथ्याङ्क सार्वजनिक भएको छ । आन्दोलनका क्रममा भएको झडपमा २४ जना घाइते भएका छन्, जसमा १९ जना प्रहरी र ५ जना सर्वसाधारण रहेका छन् ।
चन्द्रनिगाहपुरमा सबैभन्दा ठूलो क्षति
सबैभन्दा बढी क्षति इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा भएको हो । यहाँका प्रहरी सवारीसाधन, उपकरण र भवनमा आगजनी तथा तोडफोड हुँदा ठूलो क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए । उनका अनुसार, प्रहरीका ११ वटा सवारीसाधन पूर्ण रूपमा जलेका छन् भने अन्य केही आंशिक क्षतिग्रस्त भएका छन् । साथै, प्रहरीका लाठी, शिल्ड, हेलमेट, हतकडीलगायत सामग्री समेत नष्ट भएका छन् ।
सरकारी कार्यालयमा ३६ करोडभन्दा बढी क्षति
तोडफोड र आगजनीका कारण रौतहटका विभिन्न सरकारी कार्यालयमा मात्र करिब ३६ करोड ३ लाख रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ ।
गौर नगरपालिकामा ६४ लाख,
सडक डिभिजन चन्द्रनिगाहपुरमा ६ करोड,
वन डिभिजनमा २ करोड ५० लाख,
प्रदेश लेखा इकाईमा २ करोड ६० लाख,
मौलापुर नगरपालिकामा ५ करोड बराबरको क्षति भएको विवरणमा उल्लेख छ ।
यस्तै, फतुवा विजयपुर, बौधिमाई, वृन्दावन, माधव नारायण, गुजरा लगायतका नगरपालिकामा समेत आगजनी र तोडफोडका कारण ठूलो धनमाल नष्ट भएको छ ।
निजी सम्पत्तिमा पनि ठूलो क्षति
आन्दोलनका क्रममा निजी सम्पत्तिमा समेत ८ करोड ४२ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
यसमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको करिब ४५ लाख, प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिनाको २ करोड ६० लाख, गरुडा नगर प्रमुख कन्थमणि जायसवालको करिब ३ करोड ९० लाखसहित जनप्रतिनिधि र स्थानीयवासीको निजी सम्पत्ति जलेको वा तोडफोड भएको छ ।
नियन्त्रणका प्रयास
प्रहरीका अनुसार आन्दोलन नियन्त्रण गर्न चन्द्रनिगाहपुर क्षेत्रमा मात्र १२१ राउन्ड अश्रुग्याँस प्रहार गरिएको थियो । आगलागीमा परेर ९५ राउन्ड गोली जलेको र प्रत्यक्ष ७१ राउन्ड फायर गर्नुपरेको तथ्याङ्कमा उल्लेख छ ।







































