काठमाडौं । जेनजी आन्दोलनकै उग्र रूपले भदौ २४ गते देशभरका कारागार र सुधारगृहहरूमा ठूलो विपत्ति निम्त्यायो । कारागारमा तोडफोड र आगजनीसँगै भागेका १४ हजार ५५६ कैदीबन्दीमध्ये करिब सात हजार जना मात्र फर्किएका छन्, जबकि अझै ७ हजार ६२७ जना सम्पर्कविहीन छन् ।
कुन–कुन कारागारबाट भागे?
कारागार व्यवस्था विभागका अनुसार, उक्त दिन २८ वटा कारागार र नौ वटा सुधारगृहबाट कैदी र थुनुवा बाहिरिएका थिए ।
कारागारबाट १३ हजार ५९२ जना,
सुधारगृहबाट ९६४ जना,
कुल १४ हजार ५५६ जना कैदीबन्दी फरार भएका थिए ।
फर्किएकाको संख्या
९ असोज साँझसम्मको तथ्यांकअनुसार ६ हजार ९२८ जना पुनः कारागार फर्किएका छन् । विभागका अनुसार सम्पर्कमा नआएकामध्ये अधिकांश जघन्य र संगठित अपराधमा संलग्न रहेका छन्, जसले सुरक्षा चुनौती थपिएको छ । भाग्ने क्रममा कारागार नियन्त्रणका लागि सुरक्षाकर्मीले बल प्रयोग गर्दा ५ जना कैदीबन्दीको ज्यान गएको थियो ।








































