जोडिनुहोस
  • होमपेज
  • अनुमति बिना माइतीघरमा उत्रिएका जेनजी कार्यकर्तालाई प्रहरीले रोकेपछि तनाव

अनुमति बिना माइतीघरमा उत्रिएका जेनजी कार्यकर्तालाई प्रहरीले रोकेपछि तनाव

काठमाडौं । अनुमति नलिई माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न पुगेका जेनजी अभियन्ता र प्रहरीबीच केहीबेर तनावको अवस्था सिर्जना भएको छ। प्रदर्शनकारीहरू अघि बढ्न खोजेपछि प्रहरीले अवरोध गरेकाले दुवै पक्षबीच धकेलाधकेल भएको हो।

मिराज ढुंगानाको नेतृत्वमा रहेको जेनजी समूहले आजदेखि माइतीघर केन्द्रित आन्दोलन सुरु गर्ने घोषणा गरेको थियो। तर जिल्ला प्रशासन कार्यालयले प्रदर्शनका लागि अनुमति नदिएपछि प्रहरीले समूहलाई अगाडि बढ्न रोकेको थियो।

प्रदर्शनकारीहरूले सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शन गरेका थिए। आन्दोलनमा रविकिरण हमाल, निकोलस भुसाललगायत अभियन्ताहरूको सहभागिता रहेको थियो। सहभागीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

प्रहरीसँगको झडपजस्तो अवस्था बनेपछि केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरी प्रशासनले अनुमति बिना गरिएको प्रदर्शनका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने भन्दै आवश्यक नियन्त्रणात्मक कदम चालिएको स्पष्ट पारेको छ।

घटनापछि माइतीघर क्षेत्रमा सुरक्षा सतर्कता थप कडा पारिएको छ।

धेरै टिप्पणी गरिएका