
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्राजिलका प्रख्यात फुटबल खेलाडी रोबर्टो कार्लोससँग आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गरेका छन्।
विश्वकप विजेता कार्लोस नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौं आएका हुन्। भेटका अवसरमा प्रधानमन्त्री ओलीले कार्लोसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरूलाई प्रेरणा मिल्ने बताए। नेपाल र ब्राजिलबीच सुमधुर कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले दुवै देशका खेल क्षेत्रले एकअर्काबाट सिक्न सक्ने कुरामा जोड दिए।
प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई ‘माउन्टेन फ्लाइट’ र जङ्गल सफारीको योजनासहित फेरि नेपाल भ्रमण गर्न आग्रह गरे। आफूलाई गरिएको स्वागतप्रति आभार व्यक्त गर्दै कार्लोसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीहरूसँग भेट्न पाउँदा खुसी लागेको बताए।




































