जोडिनुहोस
  • होमपेज
  • गठबन्धन बदल्ने संकेतसहित कोइरालाको सक्रियता, कांग्रेस–एमालेबीच असमझदारी चुलिँदै

गठबन्धन बदल्ने संकेतसहित कोइरालाको सक्रियता, कांग्रेस–एमालेबीच असमझदारी चुलिँदै

काठमाडौं । कांग्रेस नेता शेखर कोइरालाको बढ्दो राजनीतिक सक्रियताले सत्तारूढ गठबन्धनभित्र तरंग ल्याएको छ। गठबन्धन परिवर्तनको संकेतसहित कोइरालाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गरेपछि सत्ता समीकरण फेरिने अड्कल तातेको छ।

कोइरालाले आफूनिकट नेताहरूको बैठकसमेत गरी सरकारलाई दबाब दिन मन्त्री फिर्ता बोलाउनेसम्मको चर्चा गरेका छन्। तर पार्टी सभापति शेरबहादुर देउवा भने मौन छन्।

यसैबीच एमालेले निजामती विधेयकमा कुलिङ अफ पिरियड हटाउने र भूमि विधेयक अघि बढाउने प्रयासले कांग्रेसभित्र असन्तुष्टि बढाएको छ। कोइरालाले यी विधेयकदेखि घुसकाण्डमा मन्त्रीको संलग्नतासम्मको विषय उठाउँदै सरकारप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।

कोइरालाको सक्रियताबीच कांग्रेसकै ७ पूर्वपदाधिकारीले भने वर्तमान गठबन्धनलाई २०८४ सम्म निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेका छन्। उनीहरूले ओली–देउवा ७ बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गर्ने निर्णय पनि गरेका छन्।

तर देउवा समूह गठबन्धनमा तत्काल परिवर्तन नहुने र कोइरालाको गतिविधि महाधिवेशन लक्षित मात्रै भएको दाबी गरिरहेको छ। संसदीय अंकगणितमा पनि कोइरालाको पकड कमजोर देखिएको छ।

यता, कुलिङ अफ पिरियड नहटाउने कांग्रेसको लाइन र भूमि विधेयकमा एमालेको हठबीच दुई दलबीचको अविश्वास गहिरिँदै गएको छ।

धेरै टिप्पणी गरिएका