
काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा राजनीतिक दलका पार्टी कार्यालयमा भएको क्षतिको आज अनुगमन गर्ने भएको छ ।
आज नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रलगायतका दलका कार्यालय अनुगमन गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनालसहितको टोलीले क्षतिग्रस्त पार्टी कार्यालय अनुगमन गर्ने जनाइएको छ । आज बिहान ११ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय अनुगमन गरेपछि नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)लगायतको पार्टी कार्यालय अनुगमन गर्ने तालिका छ ।
आगामी फागनु २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा सरकारले सरोकारवाला पक्षसँग वार्ता तथा संवादलाई तीव्रता दिएको छ ।




































