
मुस्ताङ । राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको कोवाङ–जोमसोम सडक खण्डमा पर्ने घरपझोङ–४ जोमसोमस्थित भासिएको सडकको स्तरोन्नति गर्न माग गर्दै स्थानीयवासीले आज दुई घण्टा सडक अवरुद्ध गरेका छन्।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले तत्काल निर्माण कम्पनीलाई भासिएको स्थानमा सडक संरचनाको काम सुरु गर्न लगाउने आश्वासन दिएपछि सडक पुनः सञ्चालनमा आएको छ। यससँगै मुक्तिनाथ–कोरला आउजाउ गर्ने सवारी साधनहरू आफ्नो गन्तव्यतर्फ लागेका छन्।
यसअघि जोमसोममा निर्माणाधीन मुख्य सडक भासिएको स्थानमा तत्काल काम सुरु गर्नुपर्ने माग राख्दै मुस्ताङको घरपझोङ–४ जोमसोमस्थित गणेश मन्दिर नजिकै स्थानीयले सडक अवरोध गरेका थिए। उनीहरूले गत वर्ष भासिएको करिब १०० मिटर सडकको स्तरोन्नति नहुँदा कालीगण्डकी नदीको तटीय बस्ती जोखिममा परेको जनाउँदै मुक्तिनाथ–कोरला सडकमा केही समय यातायात अवरुद्ध गरेका थिए।
जोमसोमकी स्थानीय प्रमिला गुरुङ थकालीले भासिएको सडक मर्मत तथा स्तरोन्निका लागि आवश्यक पहल गरिदिन पटक–पटक स्थानीय प्रशासन र गाउँपालिका कार्यालयमा लिखित आग्रह गर्दासमेत सुनुवाइ नभएको बताइन्।
मुस्ताङको घरपझोङ–४ जोमसोमका वडाध्यक्ष यमप्रसाद थकालीले जोमसोम सडक स्तरोन्नतिमा निर्माण कम्पनी, आयोजना र स्थानीय प्रशासनलाई दिइएको अल्टिमेटम चैत २० गतेसम्म तोकिएको भए पनि निर्माण कम्पनीले उक्त स्थानमा भासिएको सडकको स्तरोन्नति नगरेको बताए। निर्माण कम्पनीले बारम्बार झुक्याउने काम गरेको र स्थानीय प्रशासनले पनि सडक मर्मत तथा स्तरोन्नतिकार्यलाई गम्भीर रूपमा नलिएकाले स्थानीयले सडक अवरुद्ध गर्न बाध्य भएको उनको भनाइ थियो।
विसं २०७३/०७४ सालमा ठेक्का सम्झौता भएको कोवाङ–जोमसोम १७ किलोमिटर सडक निर्माण कम्पनीको ढिलासुस्तीका कारण अझै सम्पन्न हुन सकेको छैन। स्थानीयले मार्फा–जोमसोम सडक कालोपत्रे र जोमसोममा भासिएको सडक तत्काल सुरु गरेर वर्षायाममा खोलाको सतह नबढ्दै निर्माण सम्पन्न गर्न माग गरेका छन्।






































