दमौली । गण्डकी प्रदेशका ११ जिल्लामा सेवा विस्तार गर्ने जिम्मेवारी पाएको बन्दीपुरस्थित व्यावसायिक कीट विकास केन्द्रमा कर्मचारीको अभावका कारण कार्य सञ्चालनमा समस्या देखिएको छ ।
केन्द्रमा स्वीकृत १० पदमध्ये हाल केवल पाँच जना मात्र कार्यरत छन् । तीमध्ये एक जना अध्ययनका लागि विदेशमा रहेको बताइएको छ ।
केन्द्रका निमित्त प्रमुख विजयराज पौडेलका अनुसार अहिले एक वरिष्ठ बाली संरक्षण अधिकृत, एक बाली संरक्षण अधिकृत, एक प्राविधिक सहायक, एक नायब प्राविधिक सहायक र एक कार्यालय सहयोगी मात्र कार्यरत छन् । कृषि प्रसार अधिकृत, लेखापाल, प्रशासन सहायक र हलुका सवारी चालकका पद भने रिक्त छन् ।
“११ जिल्लामा काम गर्नुपर्ने तर आधा कर्मचारी मात्रै हुँदा सेवा प्रभावकारी बनाउन गाह्रो भइरहेको छ,” पौडेलले भने ।
केन्द्रले रेशमखेती, मौरीपालन र च्याउखेतीका लागि प्राविधिक सहयोग तथा तालिम प्रदान गर्दै आएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा केन्द्रले १३१ रेशम बिज कोया उत्पादन गरी खोपासीस्थित रेशम विकास केन्द्रलाई हस्तान्तरण गरेको थियो ।
त्यस्तै, च्याउ ल्याबमा तीन हजार पोका बीउ उत्पादन गरिएकामध्ये ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको छ । कार्यालय परिसरमा उत्पादन गरिएको करिब १०० केजी खायन च्याउ पनि बिक्री गरिएको छ ।
गत वर्ष केन्द्रले गण्डकीका विभिन्न जिल्लाका ११० कृषकलाई मौरीपालन र १८३ कृषकलाई च्याउखेतीसम्बन्धी तालिम दिएको जानकारी दिइएको छ ।







































