समाचार
दशैं अघि नागढुंगा–सिस्नेरी सुरुङमार्ग संचालन अलपत्र, प्राविधिक र व्यवस्थापकीय चुनौती

काठमाडौं। दशैं चाड नजिकिँदै गर्दा यात्रुबाहक सार्वजनिक सवारीका लागि निर्माण भइरहेको नागढुंगा–सिस्नेरी सुरुङमार्ग संचालनको सम्भावना अझै अस्पष्ट छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले चाडपर्वलाई लक्षित गर्दै सुरुङमार्ग प्रयोगको व्यवस्था मिलाउन निर्देशन दिएका थिए, तर प्राविधिक र व्यवस्थापकीय चुनौतीहरूले योजना कार्यान्वयनमा ढिलाइ गरिरहेको छ।
मन्त्री घिसिङले सम्बन्धित निकायहरूसँगको छलफलपछि २४ सै घण्टा सडक अवरोध र गुनासो व्यवस्थापनका लागि निर्देशन दिएका थिए। तर, सुरुङमार्ग दशैंअघि नै सञ्चालनमा ल्याउन मुस्किल पर्ने अवस्था देखिएको छ।
निवर्तमान सरकारले मार्ग प्रयोगका लागि अन्तिम तयारी गरेर दशैँमा संचालन गर्ने घोषना गरेका थियो । साउन २६ गतेको मन्त्रिपरिषद्को बैठकले सुरुङमार्ग प्रयोगकर्ताका लागि शुल्क निर्धारण गरेको थियो। ओली सरकारले २०८२ कार्तिकमा सुरुङमार्ग पूरा गर्ने लक्ष्य राखेको थियो, तर हालसम्म ८५ प्रतिशत प्रगति मात्र भएको छ र अत्यावश्यक लाइटिङ र भेन्टिलेसनको काम अन्तिम चरणमा रहेको छ।
सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक सन्जय पन्थीका अनुसार, जापानी सहयोग नियोग र नेपाल सरकारका सम्बन्धित निकायसँग छलफल जारी छ। प्राविधिक टोलीले सहमति दिएपछि मात्र मार्ग सञ्चालनमा ल्याउन सकिने बताए। उनले भने, “हालको प्रगतिलाई हेर्दा दशैं अघि संचालन गर्न मुस्किल जस्तो देखिन्छ।”
२०७६ कात्तिकमा शिलान्यास भएको २.६ किलोमिटर लामो सुरुङमार्गको मुख्य संरचना बनिसकेको छ, तर स्थानीय बासिन्दाले पटक–पटक अवरोध गर्दै आएका छन्। कर्मचारी व्यवस्थापन, विद्युत् र अक्सिजनजस्ता पूर्वाधारको तयारीसहित लाइटिङ, भेन्टिलेसन र कंक्रिट सडक निर्माण कार्य अन्तिम चरणमा रहेको छ।
विश्लेषकहरूले यो ढिलाइलाई प्राविधिक तयारी, स्थानीय अवरोध र आयोजनाको व्यवस्थित योजना अभावको संकेतका रूपमा लिइरहेका छन्। दशैंअघि मार्ग सञ्चालन गर्न नसक्ने सम्भावनाले योजना कार्यान्वयनमा सरकारको तयारीप्रति प्रश्न उठाएको छ।






























