जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)

प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई नियुक्त गरेको विषयमा ध्यानकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव श्रेष्ठले सचिवालयमा आफ्ना मान्छेलाई नियुक्त गरेको भनेर आलोचना भएपछि प्रधानमन्त्रीको सचिवालयले त्यस्ता सामग्रीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले सोमबार विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनको बलमा स्थापित सरकारका प्रधानमन्त्री मितव्ययिता, पारदर्शिता र जबाफदेहीताका सन्दर्भमा जिम्मेवार र संवेदनशील रही सोही अनुरूपको आचरण र व्यवहार गर्दै आएको उल्लेख गरेका छन् ।

प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रुपमा जोडिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको जिकिर गरेको छ ।

साथै उनले प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौँ संशोधन २०८१) को ३ (३) मा स्वकीय सचिवालयका प्रमुख स्वकीय सचिव प्रधानमन्त्रीबाट नियुक्त हुने र अन्य पदमा प्रधानमन्त्रीको निर्देशनमा प्रमुख स्वकीय सचिवले नियुक्त गर्न सक्ने व्यवस्था उल्लेख भएअनुसार नियुक्तिहरू भएको बताएका छन् ।

‘सोही व्यवस्थाबमोजिम प्रधानमन्त्रीज्यूले आफूले भरोसा गर्न सक्ने व्यक्तिलाई प्रमुख स्वकीय सचिव नियुक्त गर्नुभएको हो’, रावलले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको परिवारमा आफूसँग श्रीमान् मात्र रहनुभएको र उहाँहरूको वृद्ध उमेरको कारण पारिवारिक रूपमा सहयोग गर्न सक्ने विश्वासिलो व्यक्ति प्रधानमन्त्रीज्यूले छनोट गरी नियुक्त गर्नुभएको हो ।’

प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घण्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न सचिवालयले अनुरोध समेत गरेको छ ।

‘यसबाहेक अन्य नियुक्तिहरूमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रूपमा जोडिएको र कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको देखिएकोले त्यसो नगरिदिन हुन पनि अनुरोध छ’, संयोजक रावलले भनेका छन् ।

कार्यविधिअनुसार ७ जना सल्लाहकार राख्न सक्ने दरबन्दी भए पनि हाल २ जना मात्र नियुक्त गरिएको भन्दै १९ जना विज्ञ कर्मचारी राख्न सक्ने दरबन्दी भए पनि ४ जना मात्र नियुक्त गरिएको र त्यसमध्ये एक जना अवैतनिक रहेको प्रस्ट्याएका छन् ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयमा ४१ जनाको दरबन्दी रहे पनि १४ जना मात्र कार्यरत रहेको भन्दै उनले यी सबै गरी ६७ जनाको दरबन्दी रहेको र विगतका सरकारहरूले प्रायः ती सबैमा पदपूर्ति गरी आएकामा प्रधानमन्त्रीले अत्यन्त जरुरी र नगरी नहुने कामका लागि मात्र निकै कम जनशक्तिको अर्थात् २० जनाको मात्र सचिवालय बनाएको बताएका छन् ।

सचिवालयले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार सुशासन कायम गर्दै स्वच्छ, निष्पक्ष, भयरहित ढङ्गले निर्वाचन गर्न यो सरकार लागि परिरहेका बेला यसबाट ध्यान भङ्ग गराउने उद्देश्यले आएका सामग्रीहरूमा विश्वास नगर्न भनेका छन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा श्रीमतीसहित आफन्तलाई नियुक्ति दिएको भन्दै जेनजीका विभिन्न समूहहरूले आपत्ति जनाउँदै प्रस्टीकरण मागिरहेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका