
सिरहा। महिला कैदीबन्दीका लागि सुरक्षित र उपयुक्त व्यवस्था गर्नुपर्ने आवाज पटक–पटक उठिरहेको भए पनि सिरहाको कारागारमा हालसम्म महिलामैत्री सुविधा उपलब्ध छैन ।
कारागार प्रशासक सुवोधकुमार महतोका अनुसार महिला कैदीबन्दी राख्न छुट्टै संरचना नरहेको र पुराना भवनमा आवश्यक सुविधा नपुगेकाले समस्याको समाधान हुन सकेको छैन । एक महिनाअघि महिला कैदीहरूलाई अन्यत्र स्थानान्तरण गरिएको छ ।
महिलाका लागि छुट्टै आवासीय भवन, सुरक्षित शौचालय, स्नानगृह, बाल संरक्षण कक्ष, सुरक्षित भेटघाट कक्ष र गोपनीयता सुनिश्चित गर्ने पूर्वाधार आवश्यक मानिन्छ । तर, मधेस प्रदेश सरकारको गत आर्थिक वर्षको बजेटमार्फत निर्माण थालिएको महिला कारागार भवन अहिले अधुरो अवस्थामा छ ।
प्रशासक महतोका अनुसार झ्यालमा प्रयोग गरिएको सिसा समेत सुरक्षाका दृष्टिले जोखिमपूर्ण रहेको छ । “सिसा फुटाएर अवाञ्छित गतिविधि हुनसक्ने सम्भावना छ,” उनले भने, “म डेढ महिनामात्रै भएको छु, कसरी यस्तो सामग्री प्रयोग भयो, थाहा छैन ।”
सिरहाको मुख्य कारागार २०२८ सालमा निर्माण भएको भए पनि हालसम्म स्तरोन्नति गरिएको छैन । १५० कैदीका लागि बनाइएको कारागारमा अहिले ४४२ जना कैदीबन्दी राखिँदै आएका छन् ।
भीडभाड र व्यवस्थापनको कमजोर अवस्थाबीच साउन ४ गते कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका थिए, जसको अहिले काठमाडौँमा उपचार भइरहेको छ ।





































