
वीरगञ्ज। वीरगञ्ज महानगरको व्यस्त क्षेत्र घण्टाघरचोकमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । अत्यधिक संख्यामा चल्ने तीनपाङ्ग्रे अटोरिक्सा र जेब्राक्रसको प्रयोग नगरी जुनसुकै स्थानबाट बाटो काट्ने पैदलयात्रीका कारण समस्या बढिरहेको छ ।
स्थानीय सीताराम साहका अनुसार पैदलयात्रीहरू बेपर्वाह रूपमा सडक वारपार गर्छन् भने घण्टाघर क्षेत्रका जेब्राक्रसहरू मेटिँदै गएकाले प्रयोग गर्नसमेत कठिन भएको छ । ट्राफिक लाइट पनि काम नगरेको र जेब्राक्रसमा बाँस राखिएको हुँदा आवतजावतमा झन् समस्या भएको उनले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले सीमित जनशक्ति र जनचेतनाको अभावले स्थिति जटिल बनेको जानकारी दिए । घण्टाघर क्षेत्रमा रेलिङ नहुनु र सडक फर्निचरको मर्मतसम्भार नहुनुले समेत समस्या थपिएको उनको भनाइ छ ।
हाल घण्टाघर क्षेत्रमा तीन जना ट्राफिक प्रहरी खटिए पनि नियम पालना प्रभावकारी हुन सकेको छैन । पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा पर्सा जिल्लामा ५३ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
पथलैया स्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख राजकुमार सिलवालले वीरगञ्जको ट्राफिक समस्याको समाधानका लागि अन्य सरोकारवाला निकायको पनि सहकार्य आवश्यक रहेको बताए । सीमित जनशक्तिका कारण समस्या रहेको स्वीकार गर्दै उनले आवश्यक सुधारका कदम चालिने बताएका छन् ।




































