जोडिनुहोस
  • होमपेज
  • किब्बुज आलुमिममा नेपाली प्रतिनिधिमण्डलको अवलोकन भ्रमण

किब्बुज आलुमिममा नेपाली प्रतिनिधिमण्डलको अवलोकन भ्रमण

सन् २०२३ अक्टोबर ७ मा इजरायलको दक्षिणी क्षेत्र किब्बुज आलुमिममा हामासद्वारा गरिएको आतङ्ककारी आक्रमणको स्मृतिमा नेपाली सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डलले उक्त घटनास्थलको अवलोकन भ्रमण गरेको छ। सो आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने १ जना विद्यार्थी बविपन जोशी अपहरणमा परेका थिए, जो हालसम्म फेला परेका छैनन्।

इजरायलस्थित नेपाली राजदूत  धनप्रसाद पण्डितको नेतृत्वमा सम्पन्न उक्त भ्रमणमा नेपाल सरकारका पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित अन्य अधिकारीहरूको सहभागिता रहेको थियो।

अवलोकन भ्रमणका क्रममा किब्बुज आलुमिमका प्रमुख तथा Hemdat Hadarom Academic College of Education का उपप्राचार्यले प्रतिनिधिमण्डललाई स्वागत गर्दै घटनाको विस्तृत विवरण प्रस्तुत गरेका थिए। किब्बुज प्रमुखले भावुक हुँदै भने,  “त्यो दिन हाम्रो इतिहासको सबैभन्दा भयावह दिन थियो। हामी नेपाली विद्यार्थीहरूसँग आत्मीय सम्बन्धमा थियौँ र उनीहरूको निधनले हाम्रो समुदायमा गहिरो शोक छाएको छ।”

राजदूत धनप्रसाद पण्डितले घटनास्थलमा आयोजित स्मृति सभामा सहभागी हुँदै भने, “यो स्थलमा आउँदा हामी सबैको मन पीडाले भरिएको छ। ती विद्यार्थीहरू यहाँ अध्ययन गर्न, उज्ज्वल भविष्य बनाउन आएका थिए। दुर्भाग्यवश, हिंसाले उनीहरूलाई हामीबाट टाढा लग्यो। हामी दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै अपहृत बविपन जोशीको सुरक्षित उद्धारका लागि निरन्तर प्रयासरत रहनेछौं।”

राजदूत पण्डितको यो घटनास्थलमा तेस्रो भ्रमण हो। उहाँले उक्त घटनाप्रति सुरु देखिनै चासो, सहानुभूति र कूटनीतिक पहल जारी राख्दै आउनुभएको छ।

त्यस्तै, पूर्वमन्त्री ज्ञवालीले घटनाबारे स्मरण गर्दै नेपाल–इजरायल सम्बन्धबारे भने, “यो घटनाले दुई देशबीचको मानवीय र भावनात्मक सम्बन्धलाई अझ सुदृढ बनाएको छ। दुःखको घडीमा इजरायली सरकार र जनताले देखाएको सहानुभूतिप्रति हामी आभारी छौं।”

उहाँको यो पहिलो इजरायल भ्रमण हो भने किब्बुज आलुमिमको पनि पहिलो अवलोकन भ्रमण हो। भ्रमणका क्रममा पूर्व मन्त्री ज्ञवालीले इजरायलको कृषि प्रविधि, पशुपालन, तरकारी खेती तथा उद्यमशीलता प्रणालीहरूको पनि अध्ययन गरेका थिए।

यस भ्रमणले नेपाल–इजरायलबीचको कूटनीतिक, शैक्षिक र मानवीय सम्बन्धलाई थप प्रगाढ बनाएको छ। साथै, इजरायलमा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता र यस्ता घटनाबाट सतर्कता आवश्यक रहेको सन्देश समेत दिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका