काठमाडौँ। भृकुटीमण्डपमा सम्पन्न १७औँ संस्करणको ‘नाडा अटो शो’ एक लाख ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३ गते उद्घाटन गरेको सो प्रदर्शनीमा अटोमोबाइलसँग सम्बन्धित १३५ प्रदर्शनी कक्ष राखिएका थिए । आयोजक संस्था नाडाका अनुसार यसपटक ३० नयाँ उत्पादन सार्वजनिक गरिएका छन् ।
पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, उद्योगी, युवा व्यवसायी तथा सर्वसाधारणले अवलोकन गरेको प्रदर्शनीमा उड्ने कार र रोबोट प्रमुख आकर्षण बने ।
प्रदर्शनी समापनका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उत्कृष्ट प्रदर्शनीकक्ष सञ्चालन गर्ने उत्पादनकर्तालाई प्रशंसापत्र प्रदान गरे । कार्यक्रममा उनले अटोमोबाइल क्षेत्र देशको सबैभन्दा बढी राजस्व दिने र उपभोक्तासँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले यसलाई सुरक्षित र वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिए ।
मन्त्री पौडेलले भने, “उत्पादक र उपभोक्ताबीच विश्वास कायम गर्न यस्ता प्रदर्शनीहरू महत्वपूर्ण साबित हुनेछन् । नेपालले अटोमोबाइल क्षेत्रमा उत्पादन बढाउँदै आत्मनिर्भर बन्नुपर्छ, साथै सडक दुर्घटना न्यूनीकरण र वातावरणमैत्री प्रविधिमा ध्यान दिनुपर्छ ।”
नाडाका अध्यक्ष करणकुमार चौधरीले प्रत्येक संस्करण स्मरणीय हुने दाबी गर्दै भने, “भविष्यको नयाँ नेपालको विश्वासको ढोका यस वर्षको प्रदर्शनीले खोलेको छ । नेपालले नयाँ प्रविधि र उपकरण उत्पादन गरी समृद्धिको यात्रामा अघि बढ्नुपर्छ ।”
यसपटकको प्रदर्शनीमा विद्युतीय सवारीसाधन, पाटपुर्जा, टायर र लुब्रिकेटसहितका नवीनतम सामग्रीहरू राखिएका थिए ।






































