
जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिको विरोधमा नेपाली कांग्रेसले धनुषाको लक्ष्मीनियाँमा पुत्ला दहन गर्दै सरकारसँग कारबाहीको माग गरेको छ।
मधेस प्रदेशका कांग्रेस सांसद कुमरकान्त झाको नेतृत्वमा जनकपुर–ढल्केबर सडक केही समय अवरुद्ध पार्दै लिङ्देनको पुत्ला जलाइएको हो। सांसद झाले संसदमा लिङ्देनले झुठा अभिव्यक्ति दिएको र यसले जनतामा भ्रम फैलाएको आरोप लगाउँदै कडा कानूनी कारबाहीको माग गरे।
लिङ्देनले हालै संसदमा बोलेको वक्तव्यमा भाटभटेनी लुटपाटमा सत्तारूढ कांग्रेसका एक सह-महामन्त्रीका छोरा संलग्न भएको तर प्रहरीले छोडेको दाबी गरेका थिए। उनले कसैको नाम भने उल्लेख गरेका थिएनन्। तर सामाजिक सञ्जाल र केही मिडियामा कांग्रेस सह-महामन्त्री महेन्द्र यादवका छोरा मुकेश यादवको नाम सार्वजनिक भएको थियो। यादवका अनुसार उनका ‘मुकेश’ नामका छोरा नै छैनन्, र उनका दुवै छोराहरू विकास र आकाश डाक्टर हुन् र हाल विदेशमा छन्।
यस्तो अवस्थामा तथ्यबिना अभिव्यक्ति दिएर सह-महामन्त्री यादवको चरित्र हत्या गरिएको भन्दै कांग्रेस नेताहरू आन्दोलित बनेका छन्। उनीहरूले लिङ्देनलाई कानूनी दायरामा ल्याउन दबाब दिँदै अन्यथा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।





































