जोडिनुहोस
  • होमपेज
  • सुदूरपश्चिममा खडेरीले धान सुक्न थाल्यो, गर्मीले जनजीवन कष्टकर

सुदूरपश्चिममा खडेरीले धान सुक्न थाल्यो, गर्मीले जनजीवन कष्टकर

सुदूरपश्चिम।सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरसहितका जिल्लामा मनसुन सक्रिय हुन नसक्दा धानबाली खडेरीको चपेटामा परेको छ। बोरिङमार्फत पानी तानेर रोपिएको धान अब चर्को गर्मी र सुक्खा मौसमका कारण सुक्न थालेको किसानले गुनासो गरेका छन्।

कैलालीका किसान हरिलाल चौधरीका अनुसार असारको पहिलो साता बोरिङपम्पमार्फत रोपाइँ गरिएको थियो। तर पछिल्ला दुई साता यता पर्याप्त वर्षा नभएकाले खेत चिरा परेको र धान सुक्न थालेको छ।

जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालय, अत्तरियाका प्रमुख सञ्जय साहका अनुसार असार १६ यता उल्लेख्य वर्षा भएको छैन। “धनगढीमा असार १६ मा २१२.२ मिलिमिटर वर्षा मापन भए पनि त्यसयता ठूलो पानी परेको छैन,” उहाँले भन्नुभयो।

जलवायु परिवर्तनका कारण मनसुन प्रणाली कमजोर बनेको र समयमा वर्षा नहुँदा खेतमा झारपात, किराको समस्या तथा उत्पादनमा असर पर्ने जोखिम रहेको कृषि प्राविधिकले बताएका छन्।

यसैबीच, लगातारको उकुसमुकुस गर्मीले जनजीवन समेत कष्टकर बनेको छ। स्थानीय यज्ञराज भट्टका अनुसार “शीतलताका लागि पटक–पटक नुहाउनु परेको छ, पाँच दिनदेखि राति अनिदो बस्नुपरेको छ।”

गर्मीले मजदुरी गर्ने वर्ग, वृद्धवृद्धा र विद्यार्थीहरू बढी प्रभावित भएका छन्। अधिकतम तापक्रम सामान्य भए पनि सापेक्षिक आद्रता र न्यूनतम तापक्रम उच्च भएकाले गर्मीको महसुस बढेको मौसम कार्यालयले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका