जोडिनुहोस
  • होमपेज
  • शुक्लाफाँटा निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या घट्यो

शुक्लाफाँटा निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या घट्यो

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ। अघिल्लो आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०८१/८२ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको हो।

आर्थिक वर्ष २०८०/८१ मा चार हजार ५७४ जनाले निकुञ्ज भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए। जसमा चार हजार २९४ जना नेपाली, १३७ जना सार्क मुलुकका तथा १४३ विदेशीले निकुञ्ज भ्रमण गरेका थिए। यो तुलनामा आर्थिक वर्ष २०८१/८२ निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ। यो आर्थिक वर्षमा आन्तरिक तथा बाह्य गरी जम्मा तीन हजार ७२२ जनाले निकुञ्ज भ्रमण गरेका सूचना अधिकारी वाग्लेले बताए। जसमा तीन हजार ३७१ नेपाली, सार्क मुलुकका १९९ जना र १५२ जना विदेशी पर्यटकले यस निकुञ्ज भ्रमण गरेका थिए।

आर्थिक वर्ष २०७९/८० मा तीन हजार पाँच सय ५७ जनाले निकुञ्ज भ्रमण गरेका थिए। जसमा सार्क मुलुकका एक सय ५८ जना र विदेशी एक सय २१ जना थिए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसारको कमी, पूर्वाधार नहुनु लगायतका समस्याले यहाँ आउने पर्यटकको सङ्ख्यामा कमी आएको सूचना अधिकारी वाग्लेले जानकारी दिए।

‘जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा पर्यटकका लागि आकर्षक गन्तव्य हो, थोरै क्षेत्रफलमा धेरै वन्यजन्तुको अवलोकन गर्न सकिन्छ’, उनले भने।  हवाई भाडा महँगो, पूर्वाधार विकास नहुनु र निजी क्षेत्रबाट लगानी नभएका कारण पनि पर्यटकको सङ्ख्यामा कमी आएको सूचना अधिकारी वाग्लेको भनाइ छ। उनले शुक्लाफाँटा पर्यटनको सम्भावना बोकेको गन्तव्य भएको बताए।

‘यहाँ भारतीय पर्यटकको ठुलो सम्भावना छ तर नाकामा असहजताका कारण पर्यटक आउन सकेका छैनन्’, सूचना अधिकारी वाग्लेले भने, ‘यसको प्रचारप्रसार र निजी क्षेत्रको लगानी हुन जरुरी छ।’ उनले विदेशी पर्यटक प्रकृतिसँग रमाउन यहाँ आउने गरे पनि त्यो अनुसारको टुर प्याकेजको व्यवस्था हुन नसक्नुले पनि विदेशी पर्यटक शुक्लाफाँटासम्म नपुगेको उनले बताए।

‘विदेशी पर्यटकलाई हवाई भाडामा पनि झण्डै दोब्बर छ, सबै देशका नागरिकलाई समान भाडा दर हुनुपर्ने थियो त्यो छैन त्यस कारण पनि नजिकैको काठमाडौँ, पोखरा र चितवनसम्म पुगेर उनीहरू फर्किने गरेका छन्”, सूचना अधिकारी वाग्लेले भने, ‘पर्यटक लक्षित विभिन्न टुर प्याकेजमा निजी क्षेत्रको लगानी हुन जरुरी छ।’

यहाँका पर्यटन व्यवसायी शुक्लाफाँटा सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसारको अभावका कारण उलेख्य रुपमा पर्यटक आउन नसकेको बताउँछन्। ‘नाकामा आवागमन सहज छैन गड्डाचौकी नाकामा पर्यटक प्रहरी हुनुपर्थ्यो त्यो छैन।’ यहाँका पर्यटन व्यवसायी जगदीशचन्द्र भट्टले भने–“सीमित पूर्वाधार र प्रचारप्रसार अभाव।” उनले आन्तरिक पर्यटकलाई समेत प्रोत्साहन हुन नसकेको बताए।

शुक्लाफाँटामा बाह्रसिङ्गा, बाघ, गैँडालगायत दुर्लभ वन्यजन्तु एकै ठाउँमा देखिने भएकाले विदेशी पर्यटक शुक्लाफाँटा पुग्ने गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका नेचर गाइड विष्णुप्रसाद पनेरुले बताए। उनले भने,‘यहाँ आउने विदेशी पर्यटक थोरै ठाउँमा धेरै वन्यजन्तु देखिने भएकाले शुक्लाफाँटा मन पराउँछन्।” उनका अनुसार यहाँ छिमेकीमूलक भारतबाट समेत पर्यटक यहाँ आउने गरेका छन्।

‘यहाँको विशाल घाँसे मैदान, चराचुरुङ्गी, शान्त वातावरण विदेशीहरूले एकदमै मन पराउँछन्’, पथप्रदर्शक पनेरुले भने, ‘फाँटामा एकै ठाउँमा विभिन्न प्रजातिका चरा, बाह्रसिङ्गा, बाघ, गैँडालगायत दुर्लभ वन्यजन्तु देखिँदा विदेशी धेरै खुशी हुन्छन्।”

पथप्रदर्शक पनेरुका अनुसार शुक्लाफाँटामा अध्ययन अनुसन्धानका लागिसमेत पर्यटक आउने गरेका छन्। ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज दुर्लभ वन्यजन्तु र वनस्पतिका लागि प्रसिद्ध छ। निकुञ्जमा विश्वको सबैभन्दा ठुलो बथानमा बाह्रसिङ्गा पाइन्छ। निकुञ्जमा दुई हजार ३२३ भन्दा बढी बाह्रसिङ्गा छन्। यहाँ ४४ पाटे बाघ रहेका छन्। विश्वकै सबैभन्दा ठूलो घाँसे मैदान रहेका कारण पनि यसको बेग्लै विशेषता छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वन्यजन्तु र दुर्लभ वनस्पतिका लागि  प्रसिद्ध छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका