
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका केही व्यक्तिहरूले कांग्रेस सभापति शेरबहादुर देउवामाथि गरेको दुर्व्यवहारलाई ‘स्पष्ट आपराधिक गतिविधि’ भन्दै कडा आपत्ति जनाएका छन्। उनले यस घटनामा संलग्नहरूलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन अन्तरिम सरकारलाई तत्काल ध्यानाकर्षण गराएका छन्।
अनलाइन नागरिक न्यूजसँगको अन्तर्वार्तामा अध्यक्ष ओलीले भदौ २३ र २४ गते देउवा लक्षित आक्रमण अमानवीय र सभ्य समाजका लागि अस्वीकार्य भएको बताए। उनका अनुसार कुनै व्यक्तिप्रति असन्तुष्टि भए कानुनी बाटोबाट समाधान खोजिनुपर्ने हो, तर देउवामाथि गरिएको व्यवहार उच्छृंखलता र अराजक शैलीको द्योतक हो।ओलीले भने, “८२ वर्षको व्यक्तिमाथि यस्तो व्यवहार हुनु अत्यन्त दुःखद छ। गल्ती वा कमजोरी देखिन्छ भने कानुनी उपचार खोजिन्थ्यो। तर कानुनी प्रक्रिया छाडेर दुर्व्यवहारतर्फ लाग्नु आपराधिक क्रियाकलाप हो।”
अध्यष ओलीले देउवासँग पाँच दशकभन्दा लामो व्यक्तिगत र राजनीतिक मित्रता रहेको उल्लेख गर्दै देउवामाथिको घटनाप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन् । ओलीका अनुसार , “हामी यस्तो उद्दण्डता समर्थन गर्न सक्दैनौं। देउवाजीप्रति मेरो सद्भाव, समर्थन र सहयोग निरन्तर रहनेछ।” यो घटनापछि सुरक्षा व्यवस्थापन, राजनीतिक नेतृत्वप्रति सम्मान, तथा विरोध प्रदर्शनको सीमाबारे नयाँ बहस सुरु भएको छ।





































