जोडिनुहोस
  • होमपेज
  • धुलिखेललाई ‘शून्य कार्बन उत्सर्जन’ शहर बनाउने सम्भावनाबारे काठमाण्डौं विश्वविद्यालयमा बहस

धुलिखेललाई ‘शून्य कार्बन उत्सर्जन’ शहर बनाउने सम्भावनाबारे काठमाण्डौं विश्वविद्यालयमा बहस

‘राष्ट्रको भविष्य विद्यार्थी हुन्’ भन्ने भनाइ दोहोरिरहन्छ तर उनीहरूको आवाज सरकारी तहसम्म पुगोस् भन्ने कुरामा भने निकै कम मञ्चहरू देखिन्छन्। तर काठमाण्डौं विश्वविद्यालयको वातावरण इञ्जिनियरिङ विभागअन्तर्गतको क्लब फिक्यम र युथ थिङ्कर्स सोसाइटीले धुलिखेल नगरपालिकाको सहकार्यमा आयोजना गरेको ओपन सर्कल डिबेट त्यस्तै दुर्लभ मञ्चमध्ये एक बन्न पुग्यो।

‘प्रकृति’ नामक वार्षिक कार्यक्रमअन्तर्गत आयोजित यस बहस कार्यक्रममा काठमाण्डौं विश्वविद्यालयका विभिन्न संकायका विद्यार्थीहरू सहभागी भएका थिए। विश्वविद्यालयको हलमा आयोजना भएको चार सत्रीय बहस ‘शून्य कार्बन उत्सर्जन’ विषयमा केन्द्रित थियो, जसमा धुलिखेललाई ‘मोडेल सिटी’का रूपमा प्रस्तुत गरिएको थियो।

विद्यार्थीहरूलाई ‘पक्ष’ र ‘विपक्ष’का रूपमा छुट्याएर बहस गराइएको थियो। उनीहरूले गहिरो अनुसन्धानका आधारमा आ–आफ्ना तर्क र प्रत्युत्तर प्रस्तुत गरे। बहसलाई डा. नवराज खातीवडा (निवर्तमान अध्यक्ष), पद्मा रिजाल (प्राध्यापक, वातावरण कानुन, काठमाडौँ विश्वविद्यालय), र विनोद देउबा ठकुरी (संस्थापक, हरिण नेपाल)ले मुल्यांकन गरे। कार्यक्रमको सञ्चालन सुझल विक्रम थापा (उपाध्यक्ष, मुन सोसाइटी नेपाल) र सोफिया श्रेष्ठ (प्रोग्राम एसोसिएट, युथ थिङ्कर्स सोसाइटी)ले गरे।

चार सत्रहरू यसप्रकार थिएः

१. समस्या सत्रः धुलिखेलको तीव्र शहरीकरणले ‘शून्य कार्बन उत्सर्जन’ लक्ष्यमा कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयमा बहस।

२. नीति तथा शासन सत्रः ‘अपर्याप्त वित्तीय लगानी’ शून्य कार्बन योजनामा चुनौती हो कि होइन भन्ने प्रश्नमा बहस।

३. समाधान सत्रः “धुलिखेल २०४० सम्म १००% नविकरणीय ऊर्जामा जान सक्नेछ?” भन्ने मूल प्रश्नमा केन्द्रित छलफल।

४. विशेष सत्रः निर्णायक र संचालकले सहभागीहरूसँग प्रश्नोत्तर सत्र संचालन गरे।

विद्यार्थीहरूले नीति निर्माणको कमजोरी, कार्यान्वयनको अभाव, वित्तीय स्रोतको असमान वितरण, दक्ष जनशक्तिको अभाव जस्ता विविध समस्याहरू उठाए। त्यस्तै नविनतम समाधानहरू पनि प्रस्तुत गरिए— जस्तै जनतालाई नविकरणीय÷शून्य–उत्सर्जन विकल्पहरू प्रयोग गर्न अनुदान दिनु, उद्योगहरूमा कार्बन कर लगाउने, र धुलिखेलको प्राकृतिक अवस्थाको उपयोग गरी उत्सर्जन न्यूनीकरण गर्ने उपायहरू।

अन्त्यमा ‘रुपान्तरण’ समूहले उत्कृष्ट समूहको उपाधि जित्न सफल भयो भने ‘हरियो पाइला’ समूह दोस्रो स्थानमा रह्यो। उत्कृष्ट वक्ताको उपाधि भने ‘रुपान्तरण’ समूहकी सफलता बस्कोटाले प्राप्त गरिन्।

‘प्रकृति’ समूह र युथ थिङ्कर्स सोसाइटीको सहकार्यले काठमाण्डौं विश्वविद्यालयका विद्यार्थीहरू केवल किताबी ज्ञानमा सीमित नभई आवाज उठाउने मञ्च खोजिरहेका छन् भन्ने प्रमाणित ग¥यो। धुलिखेल नगरपालिकाले कार्यक्रमलाई दिएको समर्थनले युवालाई भविष्यका नेता मात्र नभई वर्तमानका महत्वपूर्ण भाग बनाइदिने प्रतिबद्धता देखायो। अन्य निकाय र विद्यार्थी क्लबहरूले समेत यसबाट सिक्न सकून् भन्ने आशा गरिएको छ।

सुझल विक्रम थापा

प्रचलन खबर

धेरै टिप्पणी गरिएका