जोडिनुहोस
  • होमपेज
  • सदरमुकाम मन्थली जोड्ने वैकल्पिक मार्ग नै प्रभावित हुने चिन्ता

सदरमुकाम मन्थली जोड्ने वैकल्पिक मार्ग नै प्रभावित हुने चिन्ता

मन्थली (रामेछाप)।रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने भटौली खोलाको पक्की पुल बाढीको कटानका कारण उच्च जोखिममा परेको छ । खोलाको बहाव पिलरमा सिधै ठोक्किन थालेपछि पुल क्षतिग्रस्त हुने खतरा देखिएको हो ।

मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबासलाई जोड्ने यो पुल वैकल्पिक रूपमा काठमाडौँसहित तीनवटा पालिकामा जाने मुख्य मार्ग हो । स्थानीय खेमबहादुर खत्रीका अनुसार पिलरमा जाली वा पर्खालजस्ता संरचना नबनाइए पुलमा क्षति पुग्न सक्छ । स्थानीयले सरोकारवाला निकायलाई जानकारी दिइसके पनि हालसम्म कुनै पहल नभएको उनीहरूको गुनासो छ ।

वर्षायामसँगै खोलामा बारम्बार बाढी आइरहेकाले तत्काल संरक्षण नअपनाए आवागमन नै अवरुद्ध हुने मन्थली–७ का वडाध्यक्ष भुवनहरी प्रसाईँले बताए । खाँडादेवी–४ का अध्यक्ष कृष्ण पौडेलले पनि सम्बन्धित निकायलाई जानकारी गराइसकेको उल्लेख गरे ।

गत वर्ष खुर्कोटको पुल बगाउँदा दोलखा–रामेछाप जोड्ने वैकल्पिक मार्गका रूपमा यही पुल प्रयोग गरिएको थियो । अहिले पनि भारी मालवाहक सवारीसाधन यही मार्ग प्रयोग गर्छन् । मन्थली नगरप्रमुख लव श्रेष्ठका अनुसार चालु आवमा पुल मर्मतका लागि बजेट छैन, तर समस्या गम्भीर भएमा विपद् कोषबाट मर्मत गरिने बताइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका