जोडिनुहोस
  • होमपेज
  • जुडिबेला खानेपानी आयोजना दस वर्षमा पनि अधुरै, स्थानीय अझै आर्सनिकयुक्त पानीमा निर्भर

जुडिबेला खानेपानी आयोजना दस वर्षमा पनि अधुरै, स्थानीय अझै आर्सनिकयुक्त पानीमा निर्भर

चन्द्रपुर (रौतहट)।चन्द्रपुर नगरपालिका–२ स्थित जुडिबेला खानेपानी आयोजना सुरु भएको १० वर्ष बित्दा पनि अझै आधा काम मात्र सम्पन्न भएको छ । आयोजनाले स्थानीय दुई हजार ५०० घरपरिवारका करिब १० हजार नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्य राखिएको भए पनि हालसम्म ५५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

२०७२ सालदेखि निर्माण थालिएको आयोजनाको ढिलाइका कारण स्थानीय बासिन्दा अझै ३० देखि ५० फिट गहिराइको आर्सनिकयुक्त पानी प्रयोग गर्न बाध्य छन् । उपभोक्ता समिति अध्यक्ष भोला थपलियाका अनुसार आयोजनाको काम न सङ्घीय सरकारको प्राथमिकतामा पर्‍यो, न प्रदेशको ध्यानाकर्षणमा । हाल करिब दुई सय घरमा मोटरबाट सिधै पानी पठाइए पनि पर्याप्त व्यवस्था छैन ।

समिति सदस्य टेकनाथ खरेलका अनुसार सबै घरमा पानी पुर्‍याउन झण्डै ३५ किलोमिटर मेनलाइन पाइप आवश्यक छ । वडाध्यक्ष दुत्तबहादुर थिङका अनुसार वडामा हाल दुई हजार ५०० भन्दा बढी घर छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर विवेक झाले चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण भइसके पनि ठेकेदारलाई रु ५४ लाख भुक्तानी दिन बाँकी रहेको बताए ।

डिपबोरिङ, कार्यालय भवन, पम्पहाउस निर्माण र करिब २७ किलोमिटर पाइप गाड्ने काम सम्पन्न भए पनि बजेट अभावले बाँकी काम रोकिएको छ । आयोजनाका लागि अझै करिब दुई करोड रुपैयाँ आवश्यक रहेको मन्त्रालयलाई बुझाइएको पत्रमा उल्लेख छ ।

धेरै टिप्पणी गरिएका