जोडिनुहोस
  • होमपेज
  • सुस्तायो घरजग्गाको कारोबार साउनमा आधाले घट्यो कित्ताकाट

सुस्तायो घरजग्गाको कारोबार साउनमा आधाले घट्यो कित्ताकाट

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिना (साउन)मा घरजग्गाको कित्ताकाटसँगै कारोबार खस्किएको छ । यससँगै घरजग्गाको कारोबारबाट संकलन हुने राजस्व पनि घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

विभागका अनुसार चालु आवको साउन महिनामा गत आव २०८१/०८२ को सोही महिनाको तुलनामा जग्गाको कित्ताकाट आधाभन्दा धेरैले घटेको छ । चालु आवको साउन महिनामा २० हजार ९०१ वटा कित्तालाई कित्ताकाट गरेर ४२ हजार ५६३ वटा कित्तामा विभाजन गरिएको छ । गत आवको सोही महिनामा ४४ हजार ४३५ वटा कित्ताको कित्ताकाट गरिएको थियो । उक्त कित्तालाई विभाजन गरेर ९५ हजार ९८१ वटा कित्तामा परिणत गरिएको विभागको तथ्यांकमा उल्लेख छ ।

कित्ताकाटसँगै घरजग्गाको कारोबार पनि ह्वात्तै घटेको विभागले जनाएको छ । विभागका अनुसार घरजग्गाको कारोबार १८ प्रतिशतले घटेको छ । गत आवको साउनमा १ लाख २७ हजार २०६ पटक घरजग्गाको कारोबार भएको थियो भने चालु आवको साउनमा १ लाख ४ हजार २१८ पटक कारोबार भएको छ ।

गत आवको साउनमा ४३ हजार ८३५ पटक लिखत पारित हुँदा चालु आवको साउनमा ३१ हजार ६२१ पटक लिखत पारित भएको छ । कित्ताकाट र कारोबार घटेसँगै त्यसको प्रत्यक्ष असर राजस्वमा देखिएको छ । साउन महिनामा घरजग्गाबाट संकलन हुने राजस्व पनि १४.२३ प्रतिशतले घटेको छ । गत आवको साउनमा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएकोमा चालु आवको साउनमा ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँमा सिमित भएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका