जोडिनुहोस
  • होमपेज
  • छठ पर्व राष्ट्रिय एकताको प्रतीक, समाज सुधारको प्रेरणा: राष्ट्रपति पौडेल

छठ पर्व राष्ट्रिय एकताको प्रतीक, समाज सुधारको प्रेरणा: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपाली समाजमा राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन महत्वपूर्ण प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। छठ पर्व–२०८२ को पावन अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस पर्वको गहिरो सामाजिक र सांस्कृतिक महत्वमाथि प्रकाश पार्नुभएको हो।

राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा भन्नुभएको छ, “यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक लगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।” उहाँले छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न थप सहयोग पुग्ने अपेक्षा पनि व्यक्त गर्नुभयो।

सूर्य, जल र पृथ्वीप्रतिको अगाध श्रद्धा प्रकट गर्दै छठी माताको पूजा, अर्चना र व्रत बसी मनाइने यो पर्व नेपाली संस्कृतिमा विशिष्ट स्थान राख्दछ। रातभर खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धूमधाम एवं हर्षोल्लासका साथ मनाइने छठको धार्मिक र सामाजिक महत्व अतुलनीय छ। जनविश्वास अनुसार, छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल मिल्नुका साथै परिवारको कल्याण हुने र समस्त दुःखकष्ट हटेर शुभ हुने मान्यता छ।

राष्ट्रपति पौडेलले छठ पर्वको पर्यावरणीय पक्षलाई पनि जोड दिनुभएको छ। उहाँले भन्नुभयो, “सूर्यविना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म जल प्रवाह हुने स्थानमा रहेर अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर पूजा आराधना गरी यो पर्व मनाउनाले मानिसलाई प्रकृतिप्रतिको दायित्व र पर्यावरणीय चेतना एवं पारिवारिक र सामाजिक ऐक्यबद्धता प्रकट गर्न सहयोग पुग्ने देखिन्छ ।”

छठ पर्वले नेपाली समाजमा प्रकृतिसँगको सामिप्यता, पारिवारिक बन्धनको प्रगाढता र सामाजिक सद्भावको सन्देश प्रवाहित गर्दै आएको छ। यस पर्वको माध्यमबाट नेपालीहरूले आफ्नो मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्दै भातृत्व र सहिष्णुताको भावनालाई थप बलियो बनाउने अवसर प्राप्त गर्दछन्।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
How to Calculate Present Value of a Bond